सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

करण केसी बलिङ्ग र ब्याटिंगमा चम्किँदा नेपालले नेदरल्याण्डलाई हरायो

करणले विस्फोटक ब्याटिंग गर्ने क्रममा मात्र १४ बलमा एक चौका र ३ छक्काको मद्दतले अविजित ३१ रन बनाउँदै नेपाललाई ४ विकेटको जित दिलाए।
करण केसी फायल फोटो । फाेटाे : क्यान

 

काठमाडौं। पाँच राष्ट्र सम्मिलित 'पेन्टागुलर' टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा करण केसी बलिङ्ग र ब्याटिंगमा चम्किँदा नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ।

नेदरल्याण्डले जितको लागि दिएको एक सय ३४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल हारको नजिक पुगिसकेको थियो। तर करणले विस्फोटक ब्याटिंग गर्ने क्रममा मात्र १४ बलमा एक चौका र ३ छक्काको मद्दतले अविजित ३१ रन बनाउँदै नेपाललाई ४ विकेटको जित दिलाए। यस अघि उनले नेपालको लागि बलिङ्ग तर्फ ४ विकेट समेत लिएका थिए। 

नेपालको लागि कप्तान पारस खड्काले ३३ रनको योगदान दिंदा, हिजोको हङकङ विरुद्व म्यान अफ दि म्याच विनोद भण्डारीले २६ रन बनाए भने अन्य कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्। 

टस जितेर पहिले फिल्डिंग रोजेको नेपालको लागि लेग-स्पिनर सन्दिप लामिछाने र मिडियम पेस बलर करण केसीले समान ४-४ विकेट लिएका थिए। पहिले ब्याटिंगको निम्तो पाएको नेदरल्याण्डले राम्रो सुरुवात गरे पनि करण र सन्दिपको घातक बलिङ्गको अगाडि राम्ररी ब्याट चलाउन असमर्थ भएको थियो। बलिङ्ग तर्फ ललित राजबंशीको नाममा एक विकेट रह्यो भने एक नेदरल्याण्डको खेलाडी रन-आउट भए। 

नेदरल्याण्डको लागि म्याक्स ओ डावले ४३ रनको सर्वाधिक योगदान गर्दा कोलिन एकर्म्यानले २९ र एन्टोनीयस स्टालले २१ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। 

पहिलो खेलमा हिजो कमजोर ब्याटिंगको बाबजुत विनोद भण्डारीको एकल प्रयासमा हङकङलाई पराजित गरेको नेपालले आज बलिङ्गको लय कायम गरे पनि पुन: ब्याटिंगको लयलाई सुधार गर्न सकेन।

सिरिजमा नेपाल २ खेलमा २ जितसहित ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ । अब नेपालले अर्को खेल आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

नेपाली टोली सिंगापुरमा त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेलेर ओमान पुगेको थियो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको थियो भने सिंगापुरलाई पहिलो खेलमा हराएको थियो । तर अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो । 

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा