मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

महराले बयान दिन मानेनन्, आज फेरि अदालतबाट म्याद थपिँदै

यसअघि थपिएको तीन दिने म्यादमा स्वास्थ्यका कारण भन्दै महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन ।
फायल फाेटाे : रासस

 

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले बयान दिन नमानेपछि प्रहरीले पुनः म्याद थप गर्ने भएको छ ।

यसअघि थपिएको तीन दिने म्यादमा स्वास्थ्यका कारण भन्दै महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार पुनः म्याद थप गर्न लागिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार अनुसन्धान नसकिएकाले महरालाई आज दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने भएको छ । आजै म्याद थप गरी फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पु‍र्‍याउने प्रहरीले बताएको छ ।

गत असोज १२ गते महराले संसद सचिवालयकी एक महिला कर्मचारी  रोशनी शाहीमाथि यौन दुर्व्यवहार भडियो सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित महिलाले महराविरुद्ध महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि  जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गर्न अनुमति दिएको थियाे । लगत्तै असोज १९ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले गत असोज २८ गतेमात्रै प्रहरीले घटनाको अनुसन्धान गर्न अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा उनलाई साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने प्रहरीले बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा