मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

वुमन्स च्याम्पियन्स लिग: काठमाडौं प्ले अफमा, लगातार हारसँगै ललितपुर बाहिरियो

जितसँगै काठमाडौंले चार खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै, लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
फोटो : क्याट क्विन्स काठमाडौं/फेसबुक

 

काठमाडौं । राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ‘प्ले अफमा क्याट क्विन्स काठमाडौं’ पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो ।

जितसँगै काठमाडौंले चार खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै, लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुरले दिएको १०६ रनको लक्ष्यलाई पच्छाएको काठमाडौंले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । काठमाडौंको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा एक छक्का र नौ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिएकी हुन् ।

त्यस्तै, रोमा थापाले १८, रश्मी चौलागाईले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन् ।

बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक÷एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो । उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन बनाइन् । काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट लिँदा सरस्वती चौधरीले एक विकेट झारिन ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा