मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

बाख्रा पाल्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने

चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ ।
सांकेतिक फाइल फोटो / वेब

 

भरतपुर । चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । 

पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ ।

“किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौँ”, ढकालले भने, “किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौँ ।” तिहार अगाडि नै कार्यविधि निर्माण गरी अनुदान दिइनेछ । 

नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई रु १० लाख बीउ पूँजीसमेत दिइने बताए । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरीद गरी व्यावसायिक बन्न मद्दत पुग्ने उनको विश्वास छ । यसले नगरभित्रका निम्न आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने ढकालले बताएका थिए ।

बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदै गएको छ । विगतमा आफैँलाई मासु पुर्‍याउन यहाँका बासिन्दालाई धौधौ हुने गरेको थियो । अहिले माडीका किसानले मासु बिक्री गरिरहेका छन् । 

माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फार्म स्थापना गरेका नीलकण्ठ काफ्ले बाख्रापालनको सम्भावना राम्रो भएको बताए ।

उनी छ वर्षदेखि बोयर जातको बाख्रापालन गर्दै आएका छन् । “बजारको समस्या छैन”, काफ्लेले भने, “अनुदानको व्यवस्था भएपछि थप राहात मिलेको छ ।” माडीमा झण्डै ३०० व्यावसायिक बाख्रा फार्म छन् ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा