मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

प्रधानमन्त्रीद्वारा पहिलो ‘फ्लाई ओभर’सहितको सुरुङमार्ग शिलान्यास

सम्झौता अनुसार हाज्मा आन्दो जेभीले निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । अप्रिल २०२३ सम्ममा आयोजना सक्ने लक्ष्य लिइएको छ । 
चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्रकला क्षेत्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरेका छन् ।

सुरूङमार्गको काठमाडौंतर्फको प्वाइन्टमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब सहुलियत ऋण सहयोग र  ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोत गरी कुल २२ अर्बमा सुरुङ निर्माण हुने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजना निर्देशक श्यामप्रसाद खरेलले प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको बताए । उनले करिब रु ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गरे । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले सुनाए।

धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिनेछ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

मंसिर पहिलो साता (नोभेम्बर तेस्रो)बाट काम थाल्ने गरी यसअघि जापानी कम्पनी हाज्मा आन्दो जेभीका प्रतिनिधिबीच सो सुरुङमार्ग निर्माण गर्ने सम्झौता भएको थियो । गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि करिब ४ महिना ढिला निर्माण थालिएको हो ।

सम्झौता अनुसार हाज्मा आन्दो जेभीले निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । अप्रिल २०२३ सम्ममा आयोजना सक्ने लक्ष्य लिइएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा