बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

पत्रकारितामा महिलालाई पारिश्रमिक कम, जोखिम बढी

सञ्चारगृहले पूर्ण विश्वास गरेर दिएको काम पूरा गर्दा पनि हुने विभेदीकरणले महिलामा आत्मविश्वाससमेत घटाउने गरेको उनी बताउछीन् ।
प्रतिनिधिमुलक फोटो / वेब

 

हेटौँडा । बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ ।

उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैँ रिक्सा चढ्न तलबले धान्दैन । उसो त उनले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेटे । दाजुले सँगै जाऔँ नभनेका पनि होइन तर उनीलाई आजभोली कसैको मोटरसाइकल र गाडीमा चढेर कार्यालय वा कार्यक्रममा जान मन लाग्दैन ।

केही महिना अगाडि कार्यालयको दाजुको मोटरसाइकलमा बसेर कोठा जाँदा पुरुष सहकर्मीले जिस्क्याएको घटना उनको आँखा अगाडि आइरहन्छ । त्यसैले उनी कसैको गाडी वा मोटरसाइकल नचढ्ने अठोटमा पुगेकी छन् । सँगै काम गर्ने पुरुष सहकर्मीको सवारी साधन हुँदा उत्तिनै श्रम गर्ने उनी भने प्राय पैदलयात्रा गर्छीन् ।

यो दैनिकीको मकवानपुरकी सञ्चारकर्मी सिर्जना नेपालको हो । उमेरले सानी भए पनि भोगाइले उनलाई परिपक्क बनाएको छ । पत्रकारितामा उनको यात्रा जम्मा छ वर्षको भए पनि महिला सञ्चारकर्मी भएकै कारण आर्थिक, सामाजिक र मानसिकरूपमा विभेदीकरणको शिकार हुनुपरेको उनको भनाइ छ ।

“जति श्रम गर्दा पनि आर्थिकरूपले सम्पन्न हुन नसके पनि सामाजिकरूपमा सन्तोष मिले हुने नि”, नेपाल भन्छन् । बिरामी भएको बेलामा पुरुष सहकर्मीले दिएको प्रतिक्रिया सम्झँदै उनी भन्छीन्, “मलाई रुघाखोकी लागेको थियो र पनि छुट्टी नपाएर अफिसमा गएँ, एक छिनपछि सहकर्मीले हिजो के खाइयो भनेर जिस्काए, मेरो स्थानमा पुरुष भएको भए शायद यो प्रश्न उठ्दैन थियो ।” उनी थप्छीन्, “प्रदेशसभा भवनमा सबै पुरुष सञ्चारकर्मी जसरी नै म पनि प्रदेशसभा सदस्यको आवाज रेकर्ड गर्दै थिएँ, प्रतिक्रिया दिने कार्य सकेपछि मलाई प्रदेशसभा सदस्यज्यूले धाप मार्दै नाम सोधी फोन नम्बर मागे तर मलाई पत्रकार भएको हिसाबले भन्दा पनि महिला भएको हिसाबले उनले नम्बर मागेको भान भयो र म त्यत्तिकै नबोली अन्य स्थानमा सरेर अन्त ध्यान केन्द्रित गरेँ ।”

यस्ता घटनाले आफूमा हीनतावोध गर्ने गरेको नेपालको भनाइ छ । सञ्चारगृहमा पारिश्रमिक माग्दा किन चाहियो तिमीलाई पैसा, परिवार पाल्न पर्दैन क्यार ? भन्ने उत्तरले मर्माहित हुने गरेको उनी बताउछीन् । कार्यक्रमहरुमा जाने क्रममा गरिएको हासीमजाकलाई पनि आफ्नो बच्पना बताइने गरेको उनको गुनासो छ ।

महिलालाई पत्रकारितामा जोखिम र अभावले भरिएको बताउछीन् डब्लुडब्लुजे मकवानपुरकी निवर्तमान अध्यक्ष रञ्जिता डङ्गोल । महिला र पुरुष दुवैको स्तर र योग्यता एउटै भए पनि सञ्चारगृहमा प्राथमिकतामा पुरुष नै पर्ने गरेका कारण अधिकांश सञ्चारगृहमा पुरुष सम्पादक हुने गरेको उनको भनाइ छ । महिलाहरुले पित पत्रकारिता गर्न नसक्ने उनको दाबी छ । विज्ञापन खोजी र बजार व्यवस्थापनको हकमा पनि महिला पछि पर्ने गरेको उनी बताउछीन् । सामाजिक विभेदीकरण र उच्च जोखिमको कारण नै महिला सञ्चारकर्मी विस्थापित हुनुपरेको उनको दाबी छ । 

महिलाले बाहिर सञ्चारगृहसम्म आइपुग्दैमा ठूला चुनौती र समस्यालाई चिर्नुपर्ने डङ्गोलको भनाइ छ । घरमा बुहारी, श्रीमती र आमाको जिम्मेवारी पूरा गरेर ठूलो सङ्घर्षका बीचमा सञ्चारगृह आइपुग्दा थपिने जोखिम र आर्थिक अभावले महिला सञ्चारकर्मीलाई विस्थापित गराउने डङ्गोल बताउछीन् ।

जागिर खान गएको बुहारीसँग परिवारले राखेको आर्थिक अपेक्षा र समय व्यवस्थापन गर्न नसकेरै पत्रकारिता अध्ययन गरेरै यस क्षेत्रमा लागेका महिला पत्रकार विस्थापित भएको भन्दै डङ्गोलले सञ्चारगृह, परिवार र समाजले विभेदीकरणको वातावरण जारी राखेसम्म आफूहरु जोखिममुक्त नहुने बताउछीन् । 

पत्रकार महासङ्घ मकवानपुरकी सदस्य शुभलक्ष्मी विश्वकर्माले महिला सञ्चारकर्मी र पुरुष सञ्चारकर्मीबीच गरिने विभेद सञ्चारगृहअनुसार फरक रहेको बताउछीन् । उनी भन्छीन्, “सबै मिडियाहाउसमा विभेद हुन्छ भन्ने होइन तर अधिकांशमा हुन्छ, त्यसमा महिलाले पनि पुरुषसरह समय दिन सक्दैनन् ।” पारिश्रमिकको कुरामा भने पुरुषले पहिला नै सम्झौता गरेर काम थाल्ने हुँदा महिलाको अनुपातमा बढी हुने उनको भनाइ छ ।

महिनावारीलगायतका नियमित प्रक्रिया र त्यस समय हुने असहजता भने कुनै पनि सञ्चारगृहले नबुझ्ने विकको भनाइ छ । उनी यस समयमा आफूले विभेदीकरणको मार खेपेको अनुभव हुने बताउछीन् । आफ्नो योग्यता नै भए पनि सम्पादकमा महिलालाई नपत्याउने कारण महिलाको क्षमतामाथि नै प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

मोफसलमा बिट छुट्याएर पत्रकारिता नगरिने भए पनि राजनीतिक विषयमा समाचार दिनुपर्दा पुरुषकै नाम प्राथमिकतामा पर्ने प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैया विष्ट बताउछीन् । जस पाउने ठूलाठूला समाचारमा पुरुषलाई खटाइने र भागदौड गरेर पनि सामान्य प्रतिफल आउने रिपोटिङमा महिलालाई खटाइने गरिएकामा दुःख लागेको विष्टको भनाइ छ ।  

सञ्चारगृहले पूर्ण विश्वास गरेर दिएको काम पूरा गर्दा पनि हुने विभेदीकरणले महिलामा आत्मविश्वाससमेत घटाउने गरेको उनी बताउछीन् । कार्यक्रम तथा समाचार सामग्रीको सूचना पाउने क्रममा समेत महिलापछि पर्ने गरेको विष्टको भनाइ छ । तर, महिला सञ्चारकर्मीले पनि क्षमतावृद्धिमा जोड दिन जरुरी रहेको उनको ठम्याइ छ ।

मकवानपुरका क्याम्पसमा पत्रकारिता विषयमा अध्ययन गराउन थालेको डेढ दशक पार भइसकेको छ । यो बीचमा पुरुषसँगै धेरै महिला सञ्चारकर्मी सञ्चार क्षेत्रमा आफ्नो क्षमता देखाउँदै सामाजिक जीवन जिउने रहरमा पत्रकारिता गर्न आइपुगे तरपनि समान काममा हुने असमान ज्याला, सञ्चारगृहले दिने जिम्मेवारीमा विभेदलगायतका विषयले पत्रकार महिलाको पलायनको क्रम पनि जारी रहेको छ । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा