मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

रंगशाला समयमा नै पुनर्निर्माण नहुँदा  विश्वकप छनोट खेल खोसियो

“निरीक्षणपश्चात प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला तयार हुन नसकेकोले एएफसीको निर्देशनअनुसार उक्त खेल नेपालमा हुन नसक्ने व्यहोरा जानकारी गराउँदछु”, एन्फाको विज्ञप्तिमा उल्लेख छ ।
दशरथ रंगशाला । फायल फाेटाे : वेब

 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटको कुवेतविरुद्धको खेल नेपालमा नखेलाउने निर्णय गरेको छ ।

एन्फाले एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनअनुसार दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटको कुवेतविरुद्धको खेल नेपालमा नखेलाउने निर्णय गरेको हो ।

नेपालले कुवेतविरुद्ध आउँदो ३ मंसीरमा दशरथ रंगशालामा खेल्ने कार्यक्रम थियो ।

एन्फाले आज विज्ञप्ति जारी गर्दै एएफसीले दशरथ रंगशालाको भौतिक पूर्वाधारमा प्रश्न उठाउँदै नेपालमा गर्ने भनिएको कुवेतविरुद्धको खेल नखेलाउन दिएको निर्देशनअनुसार उक्त निणर्य गरेको उल्लेख गरेको छ ।

एन्फाका अनुसार एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङ्गले १९ कात्तिकमा दशरथ रंगशालाको निरीक्षण गरेका थिए । “निरीक्षणपश्चात प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला तयार हुन नसकेकोले एएफसीको निर्देशनअनुसार उक्त खेल नेपालमा हुन नसक्ने व्यहोरा जानकारी गराउँदछु”, एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, “सबै प्रकारको अधिकतम प्रयत्नका बाबजुद भूकम्पबाट पूर्ण क्षतिग्रस्त नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा समयमा नै पुनर्निर्माण हुन र गराउन नसक्दा उक्त प्रतिष्ठित खेल नेपालमा हुन र गराउन नसकेकोमा क्षमायाचना गर्दछौं ।”

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट र २०२३ मा चीनमा हुने एएफसी एशियन कप फुटबल प्रतियोगिताको छनोट अन्तर्गत् नेपालको घरेलु मैदानमा हुने तय भएको यो खेल अब ‘न्यूट्रल भेन्यू’का रूपमा अब भूटानमा हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा