जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा. पौडेल
हामीहरुले अमेरिका र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाएर अमेरिकाले हासिल गरेको सेवा तथा वस्तुहरुलाई समेत नेपालीमाझ पुर्याउन सकेमा नेपालको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्नेछ ।
वासिङ्टन डिसी, १५ वैशाख : वासिङ्टन डिसी कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई विशेष गरी नेपाली मूलका नागरिकलाई सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो ।
कोभिडको खोप निस्केको खबर सबैभन्दा पहिला अमेरिकामै आयो । तर त्यतिबेला अमेरिकामै सर्वसुलभ थिएन । नेपालसम्म पुग्नु त निकै परको कुरा । दिनहुँ अमेरिकामै हजारौैँ मानिसको मृत्यु भएको समाचार आउँथ्यो, खोप सबैमा उपलब्ध थिएन । यस्तो बेलामा नेपालका लागि खोपको ‘लबिङ’ कसरी गर्ने होला रु डा दामोदर पौडेलका मनमा दुविधा थियो, त्यही पनि पहल भने सुरु गरेका थिए ।
“मैले काम गर्ने सहरको क्लिनिकमा त्यहाँका सिटी मेयर, रिपब्लिकन पार्टीका प्रतिनिधि अमेरिकी सङ्घीय संसद्का सिनेटर शेरेड ब्राउन पनि आइरहन्थे। सबैभन्दा पहिला त मैले उहाँहरुसँगै प्रस्ताव राखेँ । नेपालको अवस्था दर्साएँ । सिनेटर ब्राउनमार्फत मेरो प्रस्ताव युएस कंग्रेसको खोप कमिटीसम्म पुग्यो । अमेरिकी कंग्रेसमै नेपालले खोप पाउन नसकेको कुरा पुगेपछि उनले जो बाइडेनका नजिकका मान्छेसँग कुरा गरेपछि खोप पाउने देशको सूचीमा नेपाल पनि पर्यो । मैले नेपाली दूतावाससँगको समन्वयमा नेपाल पठाउने प्रक्रियाको थालनी गरेँ”, डा पौडेलले भने।
त्यसपछि डा पौडेलको सो प्रयासलाई अमेरिकी संसद्को खोप कमिटीमा भएको सुनुवाइमा कंग्रेसम्यान ब्राड विन्स्टपले समेत उठाउनुभएको थियो । यसले उनको प्रयासमा थप बल दियो । नेपालले खोप पाउने सूचीमा त नाम पर्यो तर धेरै देशको नाम त्यहाँ थियो । पछि कंग्रेसम्यानको यो पहलबाट ह्वाइट हाउसको सूचीमा नेपालको नाम माथि सार्न काम गर्यो र नेपालमा खोप जाने भएकाे थियाे ।
कोभिडको बेलामा अमेरिकाको ओहायो राज्य र आसपास बसोबास गर्ने नेपालीहरुका लागि स्वास्थ्य चेतना र कोभिडविरुद्धको सतर्कता अभियानमा उनी सक्रिय रहेका थिए ।अमेरिकामा कोभिड सङ्क्रमणका कारण नेपाली समुदाय थप समस्यामा थिए । कतिलाई भाषाको समस्या त कतिलाई स्वास्थ्य जाँचका लागि अस्पताल या स्वास्थ्य संस्थासम्मको पहुँच नै समस्या थियो । त्यो अप्ठेरो अवस्थामा विशेष गरी नेपाली समुदाय केन्द्रित रहेर उनको अगुवाइबाट धेरै लाभान्वित भए ।
उनी र उनकाे पत्नी डा सञ्जु महतो समेतले महामारीका समयमा निकै खटेर गर्नुभएको सेवाको यहाँका कैयौँ मिडियामा समाचार पनि बन्यो । उनीहरुको यो योगदानको कदर गर्दै सिनेटर ब्राउनले उनकाे एक कार्यक्रममा सम्मानपत्र प्रदान गरेका थिए । स्थानीय रेनोल्ड्स्वर्ग सिटीले प्रस्ताव नै पारित गरेको थियो । यसरी आफ्नो क्लिनिकमा उपचारमा आउने व्यक्तिमाफत जनस्तरको सम्बन्धलाई ह्वाइट हाउससम्म पुर्याएर महामारीका समयमा देशमा खोप ल्याउने सम्मको काम डा पौडेलले गरेका थिए ।
अमेरिकामा विगत दुई दशकदेखि चिकित्सा पेसामा रहेका डा पौडेल प्राइमरी केयर फिजिसियन र उच्च रक्तचाप, मधुमेह तथा मोटोपन (ओबेसिटी) सम्बन्धी रोगका विशेषज्ञ हुनुहुन्छ । अमेरिकाको ओहायो राज्यलाई कर्मथलो बनाउँदै आएका डा पौडेल ओहायोको कोलम्बस सहरमा रहेको होपवेल हेल्थ सेन्टरका मेडिकल डाइरेक्टर छन् । अर्धसरकारी र गैरनाफामूलक यो स्वास्थ्य संस्थाको सेवा यहाँका २६ स्थानमा छ ।
अमेरिकीहरुमा सधैँ समस्याका बारेमा चर्चा हुने मोटोपनबारे हामीले किनहोला भनेर राखेको जिज्ञासामा उनले भने, “अमेरिकीमा खाना, जीवनशैलीको कारण हो भन्ने छ । शारीरिक व्यायामको अभाव, ‘जङ्क फुड’ धेरै खाने बानीनै यहाँको ओबेसिटीका कारण हो । अमेरिकामा यो निकै बढ्दो छ । एक अध्ययनले त आगामी सन् २०४० सम्ममा यहाँको ६० देखि ७० प्रतिशतसम्म जनतामा ओबेसिटी बढ्ने देखाएको छ । यो चिन्ताजनक अवस्था हो ।”
नेपालको शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस गरेका डा पौडेलले ओहायोबाट एमडी गरे । उनले अमेरिकामा २० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएका छन् । कोलम्बसस्थित आफ्नो हेल्थ सेन्टरमा आर्थिक समस्यामा परेका मुख्यगरी नेपालीमूलका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्।
खासगरी जनस्तरबाट काम गर्न रुचाउने डा पौडेललाई हालै नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ओहायो राज्यका लागि नेपालको महावाणिज्यदूतमा नियुक्त गरेको छ । रासससँगको कुराकानीमा पौडलले भने, “हामीहरुले अमेरिका र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाएर अमेरिकाले हासिल गरेको सेवा तथा वस्तुहरुलाई समेत नेपालीमाझ पुर्याउन सकेमा नेपालको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्नेछ । मलाई दिइएको जिम्मेवारीअनुसार म सदैव क्रियाशील हुनेछु । अमेरिकामा रहेर दुई देशबीचको सम्बन्धमा विकास र नेपाल तथा नेपालीको हित मेरो पहिलो कर्तव्य हुनेछ ।”
अमेरिकी बजारमा सधैँ उच्च माग रहने औषधि, जुत्ता तथा गार्मेन्टलगायतका क्षेत्रमा नेपालको सम्भावना देखिएको छ । त्यसका साथै पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा पनि महत्वपूर्ण सफलता हासिल गरेका नेपाली अमेरिकनहरुलाई एकीकृत गर्दै अवसरको खोजीको आवाज उठिरहेको उनले बताए ।
डा पौडेल यसका लागि एउटा संयन्त्रमार्फत काम गर्नुपर्ने धारणा राख्छन् । पौडेलले भने, “नेपालमा उद्यमशीलतालाई अगाडि बढाइरहनुभएका उद्यमी, व्यवसायीहरुलाई अमेरिकी बजारमा पहुँच वृद्धि गराउनका लागि अनुसन्धान गर्न सुझाव दिन चाहन्छु । साथै म मेरो तर्फबाट गर्न सकिने समन्वय गर्न तत्पर रहेको छु ।”
पौडेलले स्थानीय समुदायलाई अमेरिकी स्थानीय, राज्य र सङ्घीय सरकारका निकायमार्फत जोड्नका लागि निर्वाचित प्रतिनिधिहरुमार्फत समन्वय समेत गर्दै आएका छन् । उनले भने, “नेपालीभाषीहरुको बाहुल्यता भएको राज्यमा हामी रहेकाले पनि यहाँ हामीहरु जनस्तरको सम्बन्ध विस्तारमा समेत सक्रियतापूर्वक लागेका छौँ । वास्तवमा कुनै पनि देशको सम्बन्धका विविध आयामहरुलाई मजबुद र प्रभावकारी बनाउन जनता जनताबीचको सम्बन्ध महत्वपुर्ण हुन्छ । यस्तो सम्बन्ध दिगो पनि हुन्छ ।”
त्यसैले नै उनकै पहलमा नेपाली सांस्कृतिक पर्वहरुमा स्थानीय जनप्रतिनिधिहरु, गभर्नरको कार्यालय लगायतका निकायका व्यक्तित्वहरुलाई आमन्त्रण गरेर मनाइँदै आएको छ । पौडेलको पहलमा स्थानीय सहरमा तिहारलाई नेपालीहरुको चाडको रुपमा स्वीकृति दिँदै सिटी काउन्सिलले समेत एक रिजोलुसन पारित गरेको छ । यस अगाडि अमेरिकी राष्ट्रपतिको उम्मेदवार बनेका अर्बपति माइक व्लुमवर्गसँगको प्रेसिण्डेन्सियल अभियानमा डा पौडेलले प्यानलिष्टको रुपमा समेत सहभागी भएर आफ्नो धारणा राख्ने अवसर पाएबाट पनि अमेरिकी समुदायमा उनकाे पहुँचका कारण पनि उनले दुई देशबीचका जनता जनताबीचको कामलाई प्रभावकारी रुपम अघि बढाउन सकेका हुन्।
काठमाडौँको फर्पिंङमा जन्मिएका डा पौडेल रस काउन्टी मेडिकल सोसाइटीका अध्यक्ष भइसकेका छ्न् । अमेरिकी संसद्मा हालैमात्र गठन गरिएको नेपाल ककस स्थापनाका लागि पनि ओहायोबाट चारजना सङ्घीय सांसदलाई प्रतिनिधित्व गराउन उनले सफलता पाएका थिए । उनकै सक्रियतामा महाबीर पुनको राष्टिय आविष्कार केन्द्र र अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीको कृषि विभागबीच सम्झौता गराई आविष्कार केन्द्रका तीन जना इञ्जिनियरले सो विश्वविद्यालयमा व्यावसायिक तालिम गर्न पाएका थिए ।
आफू जहाँ रहेर पनि नेपालीमन र नेपालीपनमै रमाएर काम गर्ने बताउने डा पौडेल हालै बैंककमा भएको नेपाली मूलका नेपालीहरुको संस्था एएनओको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका छन् । महावीर पुन नेतृत्वको एनआइसी युएसएको अध्यक्ष उनी ओहायोका नेपालीहरुको संस्था सेन्ट्रल ओहायो नेपाली एसोसिएसन कोनाको प्रमुख संरक्षक तथा गैरआवासीय नेपाली सङ्घ एनआरएनए, अमेरिकाको सल्लाहकार भइसकेका छन् । रासस
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित





