गायक कुमार प्रयासको थुलुङ जुहारी ‘रिमे रिउ’ गीतको भिडियो सार्वजनिक
गायक तथा संगीतकार कुमार प्रयास राई र गायिका बिनुसा राईको स्वरमा सजिएको उक्त गीत सोमबार अभास राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक
काठमाडौँ : किरात राई थुलुङ भाषामा तयार पारिएको प्रेमिल जुहारी गीत ‘रिमे रिउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक तथा संगीतकार कुमार प्रयास राई र गायिका बिनुसा राईको स्वरमा सजिएको उक्त गीत सोमबार अभास राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
थुलुङ भाषामा ‘रिमे रिउ’ अर्थात् सोल्टी-सोल्टिनीबीचको माया-प्रेम र संवादलाई जुहारीका रूपमा प्रस्तुत गरिएको गीतमा प्रेमभाव, आकर्षण र प्रेम प्रस्तावलाई सांगीतिक शैलीमा अभिव्यक्त गरिएको छ। थुलुङ समुदायमा प्रचलित शब्द, भाषिक मिठास र मौलिक अभिव्यक्तिलाई समेटिएको गीतले सोल्टीले सोल्टिनीलाई फकाउने र आफ्नो प्रेमभाव व्यक्त गर्ने रोचक संवादलाई प्रस्तुत गरेको छ।
गीतमा थुलुङ भाषाका सुन्दर तथा प्रचलित शब्दहरूको छनोट गरिएको छ। विशेषगरी प्रेमिल संवाद र जुहारीको शैलीले गीतलाई मनोरञ्जनात्मक बनाउनुका साथै थुलुङ भाषाको मौलिकता र सांस्कृतिक विशेषतालाई समेत उजागर गरेको छ। सोल्टी-सोल्टिनीबीचको प्रेमिल सवाल-जवाफलाई गीतमार्फत जीवन्त बनाउने प्रयास गरिएको छ।
म्युजिक भिडियोमा गायक स्वयं कुमार प्रयास राईका साथै अञ्जना राई र भावना राईलगायतका कलाकारले अभिनय गरेका छन्। उनीहरूको जीवन्त अभिनयले सोल्टी-सोल्टिनीबीचको प्रेमिल संवाद, आकर्षण र जुहारीलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै गीतको भाव र मर्मलाई थप प्रभावकारी बनाएको छ।
गीतका शब्द उदिम किरातीले लेखेका हुन् भने संगीत गायक कुमार प्रयास राईकै रहेको छ। कुमार प्रयास र बिनुसा राईको स्वर रहेको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। सुरेश पायल राईले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन्। गीतको रेकर्डिङ किङ स्टुडियोमा गरिएको हो।
भिडियोमा हातेसीपको पहिरन, सङ्गीता मिजारको मेकअप तथा दिनेश पराजुली र उनको टिमको छायांकन रहेको छ। डिन्सन शाहले भिडियो सम्पादन तथा कलरिङ गरेका छन् भने आई क्याच स्टुडियोमा भिडियो सम्पादन गरिएको हो। उमेश राईले कोरियोग्राफी गरेको भिडियोको निर्देशन अनिल कोयी राईले गरेका हुन्।
गीत सार्वजनिक गर्दै गायक कुमार प्रयास राईले थुलुङ भाषिक गीतलाई सबैले माया गरिदिन आग्रह गरेका छन्। उनले थुलुङ राई समुदायका सदस्यहरूलाई गीत शेयर गरेर सम्पूर्ण थुलुङ समुदायसम्म पुर्याउनसमेत अनुरोध गरेका छन्।
थुलुङ भाषामा तयार पारिएको ‘रिमे रिउ’ ले मनोरञ्जनसँगै मातृभाषाको प्रयोग, संरक्षण र प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी नयाँ पुस्तामाझ थुलुङ भाषाका शब्द, प्रेमिल अभिव्यक्ति र मौलिक सांस्कृतिक अभ्यासलाई सांगीतिक माध्यमबाट परिचित गराउने प्रयासका रूपमा यस गीतलाई लिन सकिन्छ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित















