पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।

 

 

एजेन्सी : नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  

के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।

कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन्। यसअघि पलेशाले पेरिस  पारा ओलम्पिक अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन् । आजै उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । छ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तेक्वान्दोका विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए ।

लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पलेशाले टोकियो ओलम्पिक २०२० मा पनि खेलेकी थिइन् ।  जहाँ उनले दुई बाउट जित्दै इतिहास रचेकी थिइन् । तर कांस्य पदकको भिडन्तमा चिनियाँ खेलाडीसँग पराजित हुँदा पदक नजिक पुगेर पनि वञ्चित भएकी थिइन् ।

यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक-२०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०-० तथा सर्बियाकी मारिजा मिसेभलाई २३-१५ ले हराउदै चीनकी युजी लिसंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदक भिडन्तमा पलेशा १२-९ ले चुकेपछि पाँचौं भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौँ भएको दोश्रो काठमाडौँ क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौं भएकी थिइन् ।

काठमाडौँ महानगरपालिका वडा २८, बागबजार निवासी पलेशाले २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन् । सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

 


 

सम्बन्धित समाचार
ट्वीटरमा