'कुलुङ लगायत राईकरणमा परेका जातिहरुका मानव अधिकार हनन'
कुलुङ जातिका मानिसहरु आफ्नो ऐतिहासिक भूमि ‘महाकुलुङ’लाई मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् ।
त्यसो त राज्यले हालसम्म “कुलुङ” जातिलाई नेपालका अन्य जातिसरह अलग्गै जातिका रुपमा मान्यता दिई सकेको छैन । स्मरणीय छ, “कुलुङ” जातिलाई हालसम्म कथित् राई जातिको एक थर भनी मान्ने र बुझ्ने गरिएको छ । तर वास्तविकता त्यस्तो होइन । त्यसैले समग्रमा ‘राई !’करणमा परेका जातिहरुका बारेमा लेख्नुपर्ने भए तापनि यो छोटो लेखमा संभव नभएकोले गर्दा आफू “कुलुङ” जाति भएकोले गर्दा आफ्नो जातिका बारेमा राम्रोसँग थाहा पनि भएको हुनाले “कुलुङ” जाति र “कुलुङ” जातिको ‘मानव अधिकार हनन’ बारेमा विशेष फोकस गरेर यो लेख लेखिएको छ । अन्यथा नसम्झनु होला, जानाजान वा अञ्जानमा ‘राई !’करणमा परेका अन्य किराती जाति वा समुदायले...
खासमा ‘राई !’ नेपालको कुनै जात वा जाति नभएर ‘चौतारा-चौतरिया, मुख्तियार, मुलकाजी, काजी, उमराव, मीर सुब्बा, नौसिन्दा, अजिटन, सुब्बा, मुखिया देवान, गोवा, चौधराई, पटवारी, गौरुङ, माथा, करता, कारबारी, थरी, डिट्ठा, मुन्सी, शाखा अधिकृत, बहिदार, खरदर, हुलाकी, पिउन, पाले, सईस, डोके, हुक्के, छाते, मोते, कार्यलय सहयोगी, चौकीदार, कुचीकार आदि भने जस्तै पद-पदवी-पगरी मात्रै हो, थियो । ‘राई !’ पदका सम्बन्धमा पनि त्यही हो । हुन पनि एक जातिको २८ वटा मातृभाषा हुन सक्छ ? तथापि पनि यदि जोकोही व्यक्तिले म एक जाति ‘राई !’ हुँ, तर मेरो मातृभाषा चाहिँ २८ वटा छ भनेर खररररररर....२८ वटा मातृभाषा बोल्न सक्ने ‘राई !’ जातिका कोही मान्छे कसैले भेट्नु भएको छ ? छ भने पुनः बहस र छलफल गरौला । त्यसैले यो लेखमा “कुलुङ” जाति किन र कसरी ? ‘राई !’ होइन भन्ने सम्बन्धमा छोृटकरीमा “कुलुङ” जातिका पिता-पूर्खा, वंश-परम्परा इतिहास, भूगोल, भाषा, वेशभुषा, तथ्य-तथ्यांक, प्रमाण र विभिन्न उदाहरणसहित अन्य जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिले सजिलोसँग चिन्ने, बुझ्ने गरी लेख्ने प्रयास गरिने छ ।
हो, को हुन् कुलुङ जाति ? उनीहरुको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि कहाँ हो ? साँच्चै उनीहरुको ऐतिहासिक थात-थलो छ ? के कुलुङ जातिको पनि अन्य जातिसरह स्वतन्त्र जातीय बनोटको आधार रहेको छ ? जस्तै पिता-पूर्खा, वंश-परम्परा इतिहास, भूगोल, भाषा, वेशभुषा, रीतिथिति, चाडबाड, धर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, बाजागाजा आदि । कि बिना आधार फुरफुर मात्रै गरेर “कुलुङ” जातिका अगुवाहरुले हामी ‘राई !’ होइनौं भनी हिँडिरहेका छन् ? यदि “कुलुङ”हरु पनि अन्य जातिसरह अस्तित्व भएको छुट्टै जाति हो भने कुलुङको जनसंख्या कति छ ?, कुलुङ भाषा बोल्ने मातृभाषी संख्या कति छ ? निश्चय नै सो सम्बन्धमा नेपालका अन्य जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिले जान्ने, बुझ्ने अधिकार राखेका हुन्छन् नै । त्यसैले आउनुहोस्, कुलुङ जातिका बारेमा छोटकरीमा जान्ने बुझ्ने प्रयास गरौं ।
त्यसरी हेर्दा, भन्नु पर्दा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका थिए भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्यांक आएको छ । यसरी हेर्दा नेपाल वास्तवमै विविध जातजाति, भाषाभाषी र धार्मिक समूह आदिको साझा फुलबारी हो । भलै राज्यले हालसम्म पनि त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३१ र ३३ हजार १७० रहेको थियो भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ आएको छ । त्यस्तै कुलुङ मातृभाषी संख्या ३७ हजार ९१२ र आफ्नो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ । तर कुलुङ जातिको आधिकारिक संस्था “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” ले गरेको आन्तरिक जनगणनाअनुसार चाहिँ कुलुङ जातिको जनसंख्या कम्तिमा पनि एक लाख १० हजारभन्दा माथि नै रहेको छ भन्ने दाबी रहेको छ ।
‘कुलुङ’जातिका सम्बन्धमा वास्तविकता यस्तो रहेको भए तापनि हालसम्म आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) अनुसार ‘कुलुङ’जाति छुट्टै जातिका रुपमा सूचीकृत भएका छैनन्, राईमै गाभिएका छन् । जुन कुरो सुन्दा साह्रै दुःख लाछ, पीडाबोध हुन्छ । २१ औं शताब्दी भनिएको यो जमानामा त्यो पनि लोकतन्त्र र गणतन्त्र लागू भई सकेको देश नेपालमा यस्तो स्थिति रहनु भनेको बिडम्वना नै हो । हुन पनि आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा व्याख्या गरिएअनुसार ‘‘...छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ । यसरी हेर्दा ‘कुलुङ’ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । किनभने, प्रष्ठिानको ऐनले तोकेभन्दा पनि बढी आधारहरु रहेको छ । अर्थात् ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि पनि रहेको छ । त्यस्तै अरु जातिको भन्दा छुट्टै मातृभाषा पनि रहेको छ, फरक खालको भेषभुषा पनि रहेको छ । साथै ‘कुलुङ’ जातिको वंश वा पूर्खाहरु कहाँबाट आए ? सोको इतिहास र वंश-वृक्ष पनि रहेको छ । त्यस्तै हामी भन्ने भावना, भेषभुषा, गरगहना, आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, रहनसहन, चाडपर्व आदि पनि अरु जातिको भन्दा फरक रहेको छ ।
अर्को महत्वपूर्ण उदाहरण भनेको हालसम्मको नेपालको हालसम्मको जातीय बनोटको आधारमा केही उदाहरणहरु प्रस्तुत गर्नु पर्दा जसरी बाहुन नेपालको एउटा जात मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम, दाहाल आदि थरहरु हुन्छ । त्यस्तै क्षेत्रीको थापा, कार्की, बस्नेत, कटुवाल, बुढाथोकी, डाँगी, राउत आदि थर हुन्छ । अनि मगरको पनि आले, पुन, सिञ्जाली, खपाङ्गी, तिलिजा, मास्की, राम्जाली आदि थरहर हुन्छ । साथै लिम्बुको पनि आङ्देम्बे, चेमजोङ, इङ्नाम, लुम्फुङ्वा, नेम्बाङ, खेवा, लिङ्देन आदि थरहरु हुन्छ भने, तामाङको पनि गोले, तितुङ, थोकर, मोक्तान, योञ्जन, रुम्बा, वाईबा आदि थर र उपथर रहेको हुन्छ नै । हो, त्यस्तै गरेर ‘कुलुङ’ जातिको पनि आ-आफ्नो थर (थरलाई कुलुङ जातिले ‘पाछा’ भन्ने गर्छन्, आफ्नो भाषामा), उप-थर रहेको छ । त्यसैले गर्दा नै ‘कुलुङ-कुलुङ’बीचमै विवाहवारी हुने गरेको छ । नत्र त कसरी ‘कुलुङ-कुलुङ’बीचमै एकआपस्तमा विवाहवारी हुन्छ, हुन्थ्यो ?कुलुङ जातिका सुरुका पूर्खाहरु चार जना रहेका थिए । ती पूर्खाहरु क्रमशः १, छेम्सी । २, ताम्सी । ३, खप्दूलू । ४, राताप्खू हुन् । छेम्सीले सुरुमा ‘महाुकुलुङ भूमि’को छेम्सीमा, ताम्सीले छेस्खाममा, खप्दूलूले पेल्माङ-पिल्मोमा र राताप्खूले सत्तो-सोत्तो (हाल सोताङ) मा बसोबास सुरु गरे । पछिल्लो पटक भएको राज्य पुनर्संरचनापछि गाउँ पालिका (गापा) को व्यवस्था भयो । सोअनुसार यी सबै गाउँहरु अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छ । माथि उल्लेख गरिएका कुलुङ जातिका चार प्रमुख पूर्खाहरु भन्दा पहिले २३ वटा पूर्खाहरु रहेका थिए भन्ने कुलुङ जातिका पूर्खाहरुले बताउँदै आएका छन् । स्मरणीय छ, “किरात कूलू गूसखोम”ले तीन पटकसम्म पूर्खा सम्मेलन गरी सकेको छ । जे होस् कुलुङ जातिका सुरुका ती २३ पूर्खाहरुः
१, हूतीलीप ।
२, खावपूम्मा ।
३, वाईरीप्चो ।
४, होहोरेम ।
५, नीनामरीदूम-पारुहाङ ।
६, तूम्नो ।
७, होलेन्दा ।
८, दीवूरी ।
९, खार ।
१०, खोक्चीलीप ।
११ रनू ।
१२, छूनी ।
१३, छाङोक्पा ।
१४, तूनीलू ।
१५, मूथीती ।
१६, रोदू ।
१७, खम्बूहो ।
१८, छाक ।
१९, कूलू ।
२० खप ।
२१, खप्दूछेम ।
२२, ताम्सी ।
२३ छेम्सी ।
त्यसपछि कुलुङ जातिका मुख्य चार वंश रहेका छन् त्यसबाट बल्ल विभिन्न थरहरु छुटेका वा भनौं थर-उपथरहरु रहेका छन् ।
जस्तै ‘छेम्सी वंशः मोरोखू, वारोखू, देमाखू, वालाखाम, फोनीबू, वादीरी, थीम्रा, मूम्हो, पोखोती ओखोथी, थीम्रा, तोमोछा, पीदीसै, सेकछा, तोर्ङो, गदूहो, देनीखू, नमाखम, होमूछा, सेकती,नीमरस, सोखोबूस, माराबू, फोनीबू आदि ।
त्यस्तै ताम्सी वंशः आयाबू, दवार, रीन्हो, रङ्निीबू, थोरेप्पा, ङोपोचो, तोङेर्बू, बूक्खो, सोम्फोरु, लाम्लछा, ताम्बूछा, छाप्दूलू, छाप्कोती, गोतीमी, तीनीखू, हासीबू, सानालूङ, साम्दीबू, सेकाती, गेब्दूलूू, रेप्खोस, राङ्गेन्दा, राजीबू, होछालू, बार्सी, होङेलू, हारीम्बू, हानीबूस, ङोपोचो, मान्थेर्बू, मायात्ती, मूलूखू, आदि ।
राताप्खू वंशः कूबीत्ती, रीबीत्ती, रुखूपो, मूलूखू, मायात्ती, मोल्थो, पायात्ती, येइमूछा, नीछीती, नीतीबू, छाम्नीहो, छानीबूस, ताम्नीहो, छेन्दीबूस, हीउसी, बीजीदेउ, होबेर्मी, हीन्दूखू, लोमरस, होलूम्बू, पोङ्कीरी, रोङगेन्दा, थोमनाम,येइमूछा आदि ।
खप्दूलू वंशः होनीत्ती, लोवात्ती, सूर्वा, राजीत्ती, छेन्हो, थोमरोस, मोरोमूल, फोवात्ती, देउराम, मूलूलू, गोक्तूलू, थोप, रेम्नीसीङ, सैमालूङ, होपोत्ती, रीङालू, होबीत्ती,सोनूर, नीतीबू, ताम्नीहो, छेइमाहो, छेन्दीसी, येइसा, यातीहो, लामाखूस, छारीपा, सायपोस, सालीखाम्स, श्रीपोस, दीरीत्ती, वारेती आदि । यसरी हेर्दा हालसम्म ‘कुलुङ’ जातिभित्रै ३८० भन्दा बढी विभिन्न थर र उपथरहरु रहेका छन् । पुनश्चयः (कुलुङ भाषामा दीर्घ मात्रै भएकोले गर्दा लिखित रुपमा दीर्घलाई ‘ह्रस्व’ मान्ने र ‘दीर्घ’ लेख्खा-जनाउँदा ‘:’ दिने निणर्य (हालसम्म) भएको हुनाले ‘कुलुङ’ जातिका थरहरु लेख्दा सबै दीर्घ लेखिएको हो ।
कुलुङ जातिका मानिसहरु आफ्नो ऐतिहासिक भूमि ‘महाकुलुङ’लाई मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङ जातिको बाक्लो बसोवास क्षेत्रहरु सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, मोरङ र भारतको दार्जिलिङ, सिक्किम, आसामलगायतका ठाउँहरु हो भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३/२४ जिल्लामा कुलुङ जातिको बसोबास रहेको छ ।
त्यस्तै विसं २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविदहरु अमृत योन्जन-तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वणर् र व्यञ्जन वणर् पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यजञ्न वणर् र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ मात्रै भएकोले लिपिबद्ध गरिदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको भेषभुषा, धर्म, रीतिथिति, संस्कार-संस्कृति, चालचलन, परम्परागत कानुन, मूल्य-मान्यता आदि रहेको छ । कुलुङ जातिभित्रै जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मुख्य भूमिका खेल्छन् । त्यस्तै जहाँ सुकैका कुलुङहरुले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा पठाउनु पर्छ । कुलुङ जातिमा चलेको विश्वास र मान्यताअनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको तत्कालीन बुङ र छेस्खाम गाविसको पेल्माङ/पिल्मो गाउँमा पर्छ । यसरी मृतकलाई पठाइने कुलुङ जातिको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ सोलुखुम्बु जिल्लाको ‘गुदेल’मा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् । त्यस्तै गरेर विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै ‘रोङखोङ’-‘दी खोङ’ (नेपाली भाषा वागदत्ता !?) दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भई हालेमा माइती पक्षले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांंग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हील्सी” भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकालाई घुर्यान वा घर नजिकैको बारीमा गाड्ने गरिन्छ ।
कुलुङ जातिको चाड-पर्वमध्ये चाक्चाकूर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् । ‘देदाम’ चाहिँ साह्रै अनिकाल पर्यो, दुःख, बिमार भयो भने मात्रै गर्ने प्रचलन छ । साथै ‘देदाम’ गर्नु साह्रै खर्चिलो पनि हुन्छ । स्मरीण छ, देदाम गर्नलाई जोडी सुंँगुर, कुखुरा, वादी (अण्डा), दी र हाङ्मुवा (जाँड+रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नु पर्छ । तोस गर्दा ‘योंङकुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले ‘सुक्तुलू’ (चुल्हो) ‘दाम्फे’ पुजिन्छ । यस्तो कार्य ठाउँअनुसार फापर, जौ र कोदोको जाँडले गर्ने गरिन्छ ।
यसरी हेर्दाखेरि कुलुङ जातिको मानव अधिकार हनन् गर्ने नेपाल सरकार जसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनको दफा २ (क) अनुसार सूचीकृत गर्ने आँट गर्दैन र, कुलुङ जातिलाई जोरजबर जस्ती राई नै हो कुलुङ भनेको राईको एक थर मात्रै हो भनेर “कुलुङ” जातिलाई जबरजस्ती राईकरण गर्ने (कथित् राई जातिमा एस्सिमिलेसन गर्ने) हरुको एनजिओ, संस्था दर्ता ऐन-२०३४ अन्तर्गत समाज कल्याण परिषदमा दर्ता नम्बर-२६५६ भएको र काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा रिजस्टर्ड नम्बर-३२८/०४९/०५० दर्ता नम्बर भएको र, केन्द्रीय कार्यलय काठमाण्डौको कोटेश्वरमा रहेको ‘राई यायोक्खा नामक एनजिओका विरुद्ध लगभग २८ वर्षको क्षतिपूर्तिसहितको माग दावीसहित आब हामी कुलुङ जातिले नेपालस्थित राष्ट्रिय मानव अधिकार आयोगमा र अन्तर्राष्ट्रियस्तरका मानव अधिकार सम्बन्धी वकालत गर्ने मानव अधिकारवादी व्यक्ति एवम् संघ-संस्थाहरुसँग समन्य गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।
त्यसैले ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ औं राष्ट्रिय मानव अधिकार महाभेला (नेपालमा्र) को अवसरमा विश्व जगतका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु र नेपालका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु म हाम्रो हार्दिक आग्रह रहेको छ, कि विगत २८ वर्षदेखि माग गर्दै आएको कुलुङ जातिलाई अलग्गै जातिका रुपमा सूचीकृत गर्नुपर्ने हाम्रो माग अनि हामी कुलुङ जाति को हौं ? भनी हामी आफैले स्वघोषणा गर्न पाउने हाम्रो आत्मनिणर्यको.अधिकार र मानव अधिकारको हनन्का विरुद्ध नेपाल सरकार र, “कुलुङ” जातिलाई जबरजस्ती राईकरण गर्ने (कथित् राई जातिमा एस्सिमिलेसन गर्ने) हरुको एनजिओ, संस्था दर्ता ऐन-२०३४ अन्तर्गत दर्ता नम्बर-२६५६ भएको एवम् काठमाडौँ जिल्ला प्रशासन कार्यलय रिजस्टर्ड नम्बर-३२८/०४९/०५० दर्ता नम्बर भएको ‘राई यायोक्खा नामक एनजिओका विरुद्ध हामीले केकसरी मानव अधिकार हनन् र हालसम्मको क्षतिथपूर्ति भराउन पाइन्छ ? सो सम्बन्धमा पनि विश्व जगतका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु र नेपालका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरुमा हाम्रो (कुलुङ जातिको) हार्दिक आग्रह रहेको छ ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित












