जातीय स्वपहिचानको सवाल र कुलुङले खनेको कुलो
विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनाअनुसार चाहिँ १४० जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति, भाषाभाषी र धार्मिक समूहको साझा फुलबारी हो
‘कुलुङले कुलो खन्यो,
थुलुङले थुन्यो ।
सोताङले सोध्यो,
खालिङले खोल्यो ।’
माथिको भनाइ मे, २००६ मा प्रकाशित ‘जनजाती सेरोफेरो’ नामक आफ्नो किताबमा स्वर्गीय डाक्टर हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाइ गुरुङले लेखेको ‘भिग्नेट्स् अफ नेपाल’ नामक अंग्रेजी किताबमा पनि उल्लेख छ । त्यस्तै गरेर ‘विषय विविध’ र ‘जनजाती सेरोफेरो’ नामक किताबमा पनि माथिको लोक गीतलाई उल्लेख गरिएको छ । खास गरिकन ‘जनजाती सेरोफेरो’ नामक किताबको दोस्रो संस्करणमा संकलित २६ वटा लेखमध्ये अन्तिम अर्थात् २६ औं लेखको ‘आदिवासी/जनजाति सूचीकरणः अवधारणा र अनुभव’ शीर्षकको पाना–१९६ मा माथिको भनाइलाई पुनः उद्धरण गरिएको छ । जुन लोक गीतलाई डा. हर्क गुरुङले पूर्वमा रहेको उखान भनी प्रस्ट्याउँदै उल्लेख गरेका हुन् ।
हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना अनुसारको नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी रहेका थिए भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनाअनुसार चाहिँ १४० जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति, भाषाभाषी र धार्मिक समूहको साझा फुलबारी हो भन्नुपर्ने हुन्छ । भलै राज्यले त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी एवम् विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनाअनुसार आएको १४० जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूह मध्ये एक हो –‘कुलुङ जाति ।’ त्यसअघि कुलुङ जातिलाई कथित् राई ! जातिमा गाभिएको थियो, गाभ्ने गरिन्थ्यो । विसं २०६८ को जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको थियो भने, कुलुङ मातृभाषीको संख्या चाहिँ ३३ हजार १ सय ७० रहेको थियो । त्यस्तै गरेर विसं २०७८ को १२ औं राष्ट्रिय जनगण्नामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ जना र मातृभाषी संख्या ३७ हजार ९१२ जना रहेको छ । त्यस्तै गरेर पूर्खाको भाषा ‘कुलुङ’ लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ । तथ्यांक स्रोतः विसं २०७८ को १२ औं राष्ट्रिय जनगण र विसं २०६८ ११ औं राष्ट्रिय जनगणानाको संक्षिप्त/मुख्य नतिजा भएको सानो बुकलेट/किताबमा आधारित रहेको छ ।
त्यसो त अझै पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र, तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो/को हो ? भन्नेबारेमा वास्तविक कुरा बाहिर नआएकाले पनि हो । तर, हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी/पदवी मात्रै हो भन्ने बारेमा सर्व साधारण मान्छेहरु माझ पनि प्रष्ट हँुदै गएको छ । जे होस्, कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ/छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो/होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि–इत्यादि बारे छोटकरीमा जान्ने प्रयास गरौं !
नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जाति मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भने जस्तै जात हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरु छन्, त्यसरी नै कुलुङभित्र पनि थर/उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर/उपथरहरु रहेको छ ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँहरुमा छ भने नेपालको तेहर्थुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २३/२४ जिल्लामा रहेको छ ।
२०६८ को ११ औं जनगणनाअनुसार कुलुङहरुको जनसंख्या २८ हजार ६ सय ३१ भए तापनि विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ पुगेको छ भने कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आप्mनो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ । हुनत कुलुङ जातिको आधिकारिक संस्था “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” ले गरेको आन्तरिक जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या एक लाख ६० हजारभन्दा पनि बढी संख्यामा रहेको छ । वास्तवमा कुलुङ जातिको मात्रै नभएर ‘राई !’रणको मारमा परेका सबै किराती महाजातिभित्रका अन्य जातिहरुको तथ्यांङ्क पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना र विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको थियो, छ । अझ विसं २०५८ को १० औं राष्ट्रिय जनगणनामा त ‘राई !’रणको मारमा परेका कुनै पनि किराती भित्रका जातिहरुको अलग्गै जातीय तथ्यांक नै आएको थिएन । केही किराती जातिहरुको भाषागत तथ्यांक मात्रै एको थियो । जस्तो उदाहरणका लागि भन्नु पर्दा २०५८ को जनगणनामा तेह्रथुम जिल्लामा एकजना पनि कलुुङ देखिएन । तापनि तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या लगभग १४, १५ सयको हाराहारीमा रहेका थिए, छन् । जे होसु, नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै अलग्गै मातृभाषा छ । जसलाई उनीहरु ‘कूलू रीङ’ भन्छन् ।
जहाँका कुलुङ भए तापनि कूलपितृ आदिमा कुलुङ जातिका मोप/नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, ईन्द्र होनीत्ती, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । त्यस अनुसार कुलुङ भाषामा २१ वटा व्यन्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिँदा अहिलेसम्म दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउदा विसर्ग (ः) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरु रहेक छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाऊँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो, जुन विवाहलाई कुलुङ जातिले ‘दाप्लो कुइम’ भन्ने गर्छन् ।
त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरु छन् भने आफ्नै मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बाल/बालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।
मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हिल्सी” भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घुर्यान वा घर नजिकैको बारीमा गाडिन्छ ।
असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरु मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरु भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनु पर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन नबारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, रांगा, सुगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउंँदा/बिदा दिंदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् । कुलुङ जातिको चाडपर्वहरुमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल पर्यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्यो भन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित












