‘...राई ! प्रज्ञा परिषद’ साँच्चै प्राज्ञहरुको परिषद हो ?  

‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ को आयोजक संस्था किरात राई प्रज्ञा परिषदले कार्यपत्र प्रस्तोताहरुलाई तथ्यमा आधारित र गहिरो अध्ययन गरेर मात्रै आफ्नो कार्यपत्र ल्याउनु वा प्रस्तुत गर्न निर्देशन दिनु पर्ने थियो ।

 

सुरुमै भनौं यो लेखको शीर्षकको अगाडि मैले किन तीन वटा थोप्लो डट, डट, डट वा भनौं ... राख्या हो भने मेरो विचारमा अथवा मेरो आफ्नै मान्यता के रहेको छ भने, हिजो केन्द्रका शासकहरुले स्थानीयस्तरमा हाम्रा पितापूर्खाहरुलाई खासगरिकन किरातीहरुमध्ये १६ खम्बु, जस्तै कुलुङ, बान्तावा, चाम्लिङ, खालिङ, थुलुङ, साम्पाङ, चौरासे (वाम्बुले), याक्थुङ–याक्थुङबा (लिम्बु) कोइँच (सुनुवार), याक्खा आदि किरात महाजातिभित्रका आ-आफ्नै अलगअलग जातीय स्वपहिचान एवम् जातीय अस्तित्व भएका किरातीहरुलाई उनीहरुको भूगोल समेत फुटाएर स्थानीयस्तरमा शासन गर्न दिईएको ‘पद–पदवी–पगरी’ हो — ‘राई !’, ‘सुब्बा’, ‘मुखिया’, ‘दिवान–देवान’, ‘द्धारे’ ‘गौरुङ’, ‘बहिदार–बैदार’, ‘कारबारी’ ‘थरी’ आदि । जसलाई सर्वसाधारण जनताले बुझ्ने भाषामा भन्नु पर्दा ‘जिम्मावाल अथवा तालुकार–तालुकदारी’ भन्ने गरिन्थ्यो ।

त्यसैले यस्ता पद पाएका मान्छेका सन्तानहरुले खोलेको एनजिओ, जुन संस्था ऐन–२०३४ अन्तर्गत खुलेको–दर्ता गरिएको अनि समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र र काठमाडौँ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर–३२८/०४९/०५० रहेको छ, सो संस्थाको नाम हो ‘किरात राई यायोक्खा ।’ स्मरण रहोस्, ‘आदिवासी किरात महासंघका पूर्व अध्यक्ष, आदिवासी अधिकारकर्मी तथा बान्तावा जातिको संस्कार, संस्कृति सम्बन्धी ज्ञाता पृथ्वीराज मुकारुङ बान्तावाले भन्नु भएअनुसर ‘यायोक्खा’ भनेको कुनै माईकाल ‘राई !’ को भाषा नभएर बान्तावा जातिको मातृभाषा हो । त्यसैले विगत लामो समयदेखि अहिलेसम्म ‘राई !’ यायोक्खा’ नामक एनजिओले जसरी एक जाति ‘राई !’ २८ भाषी ‘राई !’ वा २८ भाषी ‘राई !’ एक जाति ‘राई !’ को नाममा ‘राई यायोक्खा’ले आफ्नो एनजिओको नामको अगाडि ‘किरात’ भन्ने  शब्द राख्न–लेख्न पाउँनु हुँदैन वा लेख्न मिल्दैन भन्ने हो । अर्थात् सो एनजिओलाई आफ्नो संस्थाको नामको अगाडि किरात लेख्न दिनुहुँदैन भन्ने मेरो आफ्नै खाले बुझाई पनि रहेको छ । 

जे होस्, ‘राई यायोक्खा’लाई आफ्नो मातृ संस्था मान्ने किरात राई प्रज्ञा परिषद अर्को एक एनजिओ रहेको छ । सो एनजिओ प्रज्ञा परिषद रहेको भए तापनि काम चाहिँ नामअनुसार अर्थ साँच्चैको ‘प्रज्ञा परिषद !’ वा ‘प्राज्ञ !’हरुले गर्ने जस्तो गरे जस्तो लाग्दैन । किनभने, अहिलेसम्म उनीहरु (‘राई यायोक्खा’ र राई प्रज्ञा परिषद) ले ‘म एक जाति ‘राई !’ हुँ तर मेरो मातृभाषा चाहिँ २८ छ अथवा मेरो २८ वटा मातृभाषा छ, तर म एक जाति ‘राई !’ नै हुँ भनेर २८ वटा मातृभाषामा फरररर... बोल्न सक्ने कुनै माईकाल ‘राई !’ भेटाएको, चिनाएको, देखाएको अथवा देखाउन, चिनाउन सकेका छैनन्, अहिलसम्म । तापनि एक जाति ‘राई !’, २८ भाषी ‘राई !’ को नाममा भीड र संख्या देखाएर व्यक्तिगत रुपमा राजनीतिक एवम् अन्य फाईदा लिने काम गरिरहेका छन्, यायोक्खाका अगुवाहरुले । 

हो सोही संस्थालाई आफ्नो मातृ संस्था मान्ने किरात ‘राई !’ प्रज्ञा परिषदले गएको चैत ३० र ३१ अगते (विसं २०८१) को मितिमा काठमाडौँको कमलादीस्थित ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’को देवकोटा हल र पारिजात हलमा दुई दिने ‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ आयोजना गरेको थियो । निश्चय पनि नेपालका जुनसुनकै जातजाति, लिङ्ग, समूह, समुदाय, भाषाभाषी, धर्म, गोत्र, वंश, वर्ग आदिबारे गोष्ठी, सङ्गोष्ठी र ‘प्राज्ञिक सङ्गोष्ठी आदि गरिनु धेरै राम्रो हो । त्यसैले गर्दा सो ‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ का आयोजक ज्यूहरुलाई धन्यवाद छ । तर, पनि प्रस्ट हुनुपर्ने कुरो के भने, ‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ को आयोजक संस्था र उनका–उसका मातृ संस्था जुन संस्था ‘संस्था दर्ता ऐन–२०३४ अन्तर्गत खुलेको एवम् दर्ता गरिएको अनि समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ एवम् काठमाडौँ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर–३२८/०४९/०५०’ रहेको भनेर माथि नै पनि प्रस्ट पारिसकिएको । सो संस्थाले सर्व प्रथम ‘राई !’ के हो ? ‘राई !’ भनेको जात, वर्ग, समूह, क्लब आदि मात्रै हो कि ? जाति वा समुदाय हो ? यदि राई !’ भनेको जात, वर्ग, समूह, क्लब आदि मात्रै हो भने सक्किगो !? किनभने जात, वर्ग, समूह, क्लब, साजाजिक संस्था आदि चाँहि जो–जसको पनि हुन सक्छ । 

तर ‘राई !’ भनेको जाति अथवा समुदाय नै हो भने त ‘राई !’ को ऐतिहासिक भूमि, ‘राई !’ को आफ्नै मौलिक प्रकारको भाषा (मातृभाषा) ‘राई !’ को पितापूर्खा, ‘राई !’ को वंश–परम्परा, ‘राई !’ को मौलिक चाडपर्व, ‘राई !’ को मौलिक भेषभुषा, ‘राई !’ को मौलिक संस्कार, संस्कृति आदि के हो ? छ, छैन ? छ भने त ठीकै छ । नत्र भने...। त्यसैले पहिले त यसैमा प्रस्ट हुनुपर्ने देखिन्छ, ‘राई !’ जातिवाला कामरेड–कमरेडहरु । किनभने, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र र काठमाडौँ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर–३२८/०४९/०५०’ रहेको, ‘किरात राई यायोक्खा’ नामक एनजिओका प्रमुखहरुले विगत लामो समयदेखि (विंसं २०४६ को राजनैतिक परिवर्तनपछि) ‘२८ भाषी ‘राई !’ र एक जाति ‘राई !’ वा ‘एक जाति ‘राई !’ र ‘२८ भाषी ‘राई !’ को नाममा बेलायती सेना, भारतीय सेना, सिंगापुर प्रहरी, ब्रुनाईको राजप्रासादमा सेवा गर्ने सेना तथा भूपू सेनाहरु (मामा–माइजुहरु) एवम् युरोप, अमेरिका, खाडी देश, जापान, दक्षिण कोरिया, मलेसिया, मकाउ आदि देशमा श्रम गर्न रगत–पसिना बगाउन गएका किरातीका सन्तानहरु जो जानेर वा नजानेर वा आफै पनि ‘राई !’ लेख्दा–भन्दा असली अर्थात् तालुकदार जिम्मवाल  ‘राई !’ जस्तै ठूलो मान्छे होइनन्छ अथवा फुट्नु हुँदैन भन्ने निहुँमा वा बहानामा ‘राई !’ भएका अथवा ‘राई !’ लेखेका दाजुभाइ एवम् दिदीबहिनीलाई भ्रममा पारेर धेरथोर आर्थिक सयहोग र चन्दा लिने अनि कथित् ‘राई !’ जातिको संख्या र भीड देखाएर राजनीति गर्ने एवम् व्यक्तिगत फाईदा लिने काम नगर्ने हो कि ?

चुरो कुरो के हो भने, प्राज्ञिक संस्था भएपछि, प्राज्ञिक व्यक्ति–व्यक्त्वि भएपछि काम पनि त्यही अनुसार गरे राम्रै हुन्छ । भनाइको मतलब नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा हल र पारिजात हलमा दुई दिने ‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ जुन आयोजना गरिएको थियो । सो ‘प्राज्ञिक सङ्गोष्ठी–२०८१’ को आयोजक संस्था किरात राई प्रज्ञा परिषदले कार्यपत्र प्रस्तोताहरुलाई तथ्यमा आधारित र गहिरो अध्ययन गरेर मात्रै आफ्नो कार्यपत्र ल्याउनु वा प्रस्तुत गर्न निर्देशन दिनु पर्ने थियो । वा प्राज्ञिक संस्था भएपछि, प्राज्ञिक व्यक्ति–व्यक्त्वि भएपछि आफ्नो आयोजनामा प्रस्तुत हुने कार्यपत्र आधाहीन र फगत कसैसँग रीस उठेको झोँकमा त्यसको बदला लिनलाई मात्रै कुनै गाउँ, ठाउँ, खोला, नाला, वन, जंगल, रुख, चरा, मुसा, बिरालो, हलो, कोदालो आदिको नाममा जाति भनी दाबी गर्नेहरुलाई पनि कार्यपत्र प्रस्तुत गर्न दिईएको थियो, भने आफ्नो जाति वा समुदायका बारेमा खासै ज्ञान वा सामान्य जानकारी नै नभएकाहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गरेको देखियो । फलतः फ्लोरबाट प्रश्न गर्दा, प्रश्न उठ्दा केही कार्यपत्रका प्रस्तोताहरुले जुन प्रश्नको जवाफ पनि थाहा छैन, अध्ययन गरेको छैन ?! भनेर लाचार बन्न विवश भएका थिए । अर्थात् केही कार्यपत्र प्रस्तोताहरुले लाचारीका साथ आफ्नो अनविज्ञता प्रकट गरेका थिए, जवाफ फर्काएका थिए । त्यस्ता कार्यपत्र प्रस्तोतामध्ये पहिले दिन प्रस्तुत गरिएको विभिन्न कार्यपत्रमध्ये एक ‘पिल्मो राई जातिमा मिम्छा देवीको स्वरुप वायोमे’ नामक कार्यपत्र प्रस्तोता मेलिना पिल्मो राई एक हुनुहुन्थ्यो । उहाँको प्रस्तुतीबारे फ्लोरबाट दर्शक–स्रोताहरुले केही प्रश्नहरु गरेका, राखेका थिए । त्यसरी उठेको प्रश्नको जवाफ दिने क्रममा मेलिना पिल्मो राईले ‘आफूलाई केही थाहा नभएको, अध्ययन नगरेको !’ भनी लाचारीपूर्वक जवाफ दिनु भएको–जवाफ फर्काउनु भएको थियो । 

हुनत: मैले पनि आयोजक ज्यूहरुलाई अर्को वर्ष माथि म तेह्रथुमको कुलुङ हुँ । तर म अर्को वर्ष ‘तेह्रथुम ‘राई !’ अलग्गै जाति हो ?! भनेर म पनि कार्यपत्र पेश गर्छु । तपाईँहरुले मलाई त्यसरी ‘तेह्रथुम ‘राई !’ अलग्गै जाति हो ?! भन्ने खाले कार्यपत्र पेश गर्न दिनु हुन्छ, जाति वा समुदाय हुनलाई कुनै आधारहरु हुनुपर्दैन र ? भनी मैले प्रश्न गरेको थिए । 

त्यसैले नामअनुसार प्रज्ञा परिषद वा साँच्चै को ‘प्राज्ञ !’हो भने, तपाईहरुले बिना आधार कुनै ‘गाउँ, ठाउँ, खोला, नाला, वन, जंगल, रुख, चरा, मुसा, बिरालो, हलो, कोदालो, रुख, फूल, चरा, मुसा, औषधि, बिरुवा, सिस्नो, घाँस, दाउरा, पानी, सुर्ती, लसुन आदिको नाममा जाति हौं !‘ भनी दाबी गर्नेहरुलाई पनि कार्यपत्र प्रस्तुत गर्न दिनु हुन्न कि ? प्रस्तुत गर्नु दिनुभन्दा पहिले त्यस्ता गाउँ, ठाउँ, खोला, नाला, वन, जंगल, रुख, चरा, मुसा, बिरालो, हलो, कोदालो, रुख, फूल, चरा, मुसा, औषधि, बिरुवा, सिस्नो, घाँस, दाउरा, पानी, सुर्ती, लसुन आदिको नाममा जाति हौं !‘ भनी दावी गर्नेहरुको जाति हुने आधार छ त ? सामान्य ढंगले अध्ययन गर्ने कि, बुझ्ने कि ? विचार गर्नोस् है ? नत्र त भविश्वयमा तपाईँहरुको पज्ञा परिषद प्राज्ञिताकै उपहास होला कि बेइज्जत नै त नहोला ?!...

यो कुरो किन उठाएको भने, ‘—महाकुलुङ क्षेत्रको पिल्मो–पेल्माङ गाउँको नाममा ‘पिल्मो राई !’ जातिमा ‘मिम्छा देवीको स्वरुप वायोमे’ नामक कार्यपत्र जुन थियो, सो कार्यपत्र मेलिना पिल्को राई । स्वयम् होलोन्ती पाछा (थर) को कुलुङ हुनुहुन्थ्यो–हुनुहुन्छ । साथै उहाँको मावली चाहिँ ‘गुरुत्तीस’ पाछा (थर) को कुलुङ रहेछ । अर्को महत्वपूर्ण कुरो के थाहा भयो भने, ‘वायोमे’ भन्ने देवी अथवा देउता केवल पिल्मो–पेल्माङ गाउँका कुलुङले मात्रै नपुजेर, नमानेर उँभोखोला (रावाखोला) माथिका प्रायः सबै किरातीभित्रका खम्बुहरुले पुज्ने, मान्ने रहेछन् भन्ने थाहा भयो । त्यसैले त मैले आयोजकलाई प्रश्न गरेको थिए र, अझै पनि प्रश्न गर्छु कि म तेह्रथुम जिल्लाको कुलुङ हुँ । तर, अर्को वर्ष ‘म तेह्रथुम राई !’ अलग्गै जाति हुँ’ भनेर कार्यपत्र प्रस्तुत गर्छु । हुन्छ ? के अन्धाधुन्दमै अनुमति दिनुहुन्छ तपाईहरुले ? कि ‘तेह्रथुम राई !’ अलग्गै जाति हो, होइन भनेर सामान्य ढंगले अध्ययन गरे मात्रै कार्यपत्र प्रस्तुत गर्न अनुमति दिनुहुन्छ ? अझ भएन, अर्को वर्षदेखि महाकुलुङ क्षेत्रकै विभिन्न गाउँहरु जस्तै निम्चोला, चाचालुङ, जूक्तूस्को, लोवात्ती, थीम्रा, खिरौले, बुङ, गुदेल, साद्धी, खार्दो, सोत्तो, छेक्मा, चित्रे, साप्तेल, गुदेल, सनम, एवम् प्रकारले लुबम, तोस, नोक्छो, मोप, रोङकेमे, ललदूम, आदि गाउँका कुलुङहरुले ‘–निम्चोला राई, खिरौले राई, बुङ राई, गुदेल राई, चित्रे राई, साद्धी राई, खार्दो राई, छेक्मा राई चाचालुङ राई, जूक्तूस्को राई, लोवात्ती राई, थीम्रा राई, गुदेल राई, खार्दो, सोत्तो राई, चित्रे, साप्तेल राई, सनम राई, एवम् प्रकारले लुबम राई, तोस राई, नोक्छो राई, मोप राई, रोङकेमे राई, ललदूम राई आदि गाउँ ठाउँ तथा धर्म संस्कार र संस्कृतिका नाममा पनि कार्यपत्र प्रस्तुत गर्न चाहेमा उनीहरु सबैलाई कार्यपत्र प्रस्तुत गर्न अनुमति दिने हो, राई प्रज्ञाका प्राज्ञ ज्यूहरुले ? 

हुनत: अहिलेसम्म नेपालका अन्य जातजाति, समुदाय, भाषाभाषी, धर्म, लिङ्ग, गोत्र, वंश, वर्ग, समूह आदिका मानिसहरुले राई भन्ने बित्तिकै नेपालका एक जाति भन्ने गर्छन्, त्यसरी नै चिन्ने गर्छन् । तर वास्तविकता त्यस्तो होइन, जुन कुरोका बारेमा माथि पनि ठाउँ–ठाउँमा उल्लेख भई सकेको छ । कथित् ‘राई !’ जातिवालाहरुले सो सम्बन्धमा प्रस्ट पार्नु र आफ्नो असली जातीय स्वपहिचान दिनुभन्दा पनि त्यसैलाई भजाएर खानु अनि राजनीति गर्नु एवम् व्यक्तिहरुले व्यक्गित रुपमा लाभ लिनुमा नै असलकार्य गरेको ठानिरहेको देखिन्छ । त्यसैले गर्दा होला कथित् ‘राई !’ जातिको नाममा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत रहिकन एनजिओ दर्ता गरेरै कथित् ‘राई !’ जातिको नाममा ताहुर–माहुर गर्ने गएिको देखिन्छ । 

खासमा विसं २०२१ मा आएको भूमिसुधार ऐन लागू हुनुअघि स्थानीयस्तरका शासक र सामन्तहरुले मात्रै (जसलाई तालुकदार, जिम्मावाल, मुखिया भनिन्थ्यो) नामको अगाडि मात्रै ‘राई !’ लेख्न पाउँथे । जस्तै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आदि भनेझै ऊ बेलामा ‘राई !’ पद पाउने असली वा भनौं मुख्खेलीहरुले पनि आफ्नो नामको अगाडि नै फलानो ‘राई !’, चिलानो ‘राई !’, ढिस्कानो ‘राई !’ भनी लेख्नु पथ्र्योलेख्ने गर्थे भने अहिले जनता  भनिनेहरुले चाहिँ ‘ज्यमी–जमी–जिमी’ भनी लेख्नुभन्नु पथ्र्यो । 

त्यसैले गर्दा नै कुलुङ जातिका अगुवाहरुले कुलुङ जातिका हकहितका लागि जातीय स्वपहिचानका लागि छुट्टै जातीय संगठन खोले, खोलेका हुन् । त्यसअघि नै संखुवासभा जिल्लाको तत्कालीन बाला गाउँ पञ्चायत (हाल सिलिचो गाउँ पालिका–२ नम्बर वडा) का हेमराज सोम्फाोरु कुलुङ ज्यूका अनुसार विसं २०४४ को पुसतिर नै कुलुङका केही अगुवाहरु सुनसरी जिल्लाको धरानमा भेला भएर एक तदर्थ समिति गठन गरेको थियो । यसरी हेर्दाखेरिधेरै लामो समयदेखि कुलुङ जातिका अगुवाहरुले ‘कुलुङ जाति अलग्गै जाति वा समुदाय नै हुन्, कतिथ् ‘राई !’ होइनन् भन्दै आएका हुन् । कुलुङ जातिका अगुवाहरुले अलग्गै जातीय स्वपहिचानका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन् । त्यसो त कुलुङ जातिभित्रै ३६० देखि ३८० वटासम्म थर, उपथरहरु छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । त्यस्तै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रुपमा आएको थियो । सो जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको थियो भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ पुगेको छ भने कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आफ्नो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउने ४० हजार ४७९ रहेको छ । 
 


 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा