थुलुङ राई किरात: मुन्दुम, मृतात्मा र कटुञ्जे
थुलुहरुको परम्परा, संस्कार संस्कृति प्रकृतिवादमा आधारित छ । प्रकृति र पितृ नै मानव जिवनको मूल आधार हो भन्ने मान्यता रहिआएको छ । अग्रजहरुले जिवनमा भोगेका, देखेका अनुभवको संगालो नै थुलु मुन्दुम ( ड्युम्ला र्युद्युम ) हो ।
थुलुङ राई किरात समुदाय मध्येका एक समुदाय हो । यो समुदायलाई थुलु, रद्यु, प्र्प्च्युच्यो, सुबुच्यो जस्ता अन्य पर्यावाची शब्दहरुबाट पनि चिनिन्छ । थुलुङ राईहरु नेपालको सोलुखुम्बु, खोटाङ, ओखलढुङगा, उदयपुर, भोजपुर, सुन्सरी, मोरङ, झापा, पाँचथर, ताप्लेजुङ, इलाम आदि जिल्लाहरुमा बसोबास गर्दै आएका छन् ।
थुलुङहरु नेपाल बाहेक भारत, हङकङ, बेलायत, अमेरिका, जापान, अस्ट्रेलिय देशहरुमा पनि स्थायी वा अस्थायी रुपमा बसोबास गरेका छन् । मुन्दुम (ड्युम्ला) र मिथक (स्योम्ला) अनुसार थुलुहरुको उद्गम स्थल मुलिदेल (सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी – ६ मुक्ली) मानिन्छ । विकिपिडियाका अनुसार थुलुहरुको जनसंख्या ३३,३१३ रहेका छ । उल्लेखित जनसंख्या मध्ये करिब २१,००० थुलुहरुले मातृभाषा बोल्दछन् । अन्य पुट्कर स्रोतका अनुसार देश विदेशमा गरि थुलुङको जनसंख्या १,५०,००० को हाराहारीमा छ ।
थुलुङ राईहरुको आफ्नै भाषा छ। थुलुङ भाषालाई 'थुलु ल्वा वा इकि ल्वा' भनिन्छ । राजा महेन्द्रको एक भाषा एक धर्म नीतिको कारण अन्य समुदायको भाषा जस्तै थुलुङ भाषा पनि संरक्षणको अभावमा ओझेलमा पर्न गयो । त्यसमाथी आजको व्यापारिक भाषाहरुको कारण थुलु भाषा बोल्नेहरुको संख्या दिन प्रतिदिन कम हुँदै गइरहेको छ । यही रफ्तारमा थुलुङ भाषा वक्ताहरुको कमी हुँदै जाने हो भने केहि दशक पछि मानव सभ्यतासंग जोडिएको एउटा सवल भाषा सधैका लागि लोप भएर जाने निश्चित छ । अहिलेसम्म थुलुङहरुले मुन्दुमी संस्कार आफ्नै थुलुङ भाषामा गर्दै आईरहेका छन् ।
.jpg)
यो समुदायको मुन्दुमी संस्कार आफ्नै भाषामा भए पनि अन्य किराती समुदायको संस्कारसंग मिल्दोजुल्दो पाईन्छ किनकी सम्पूर्ण किरात राईहरुको मूल जरो एउटै हो भनि विभिन्न मिथकहरुमा उल्लेख भएको पाईन्छ ।
मुन्दुम अनुसार थुलुङहरु खोटाङ जिल्लाको तुवाचुङ जायजुम क्षेत्रबाट कृषि युग प्रवेश गरेका थिए । कृषि युगसंगै जिवनमा भोगेका, देखेका अनुभवहरुको आधारमा किराती सभ्यताको विकासक्रम शुरु भएको थियो । समय बित्दै जाँदा समाजलाई व्यबस्थित गर्न अगुवा व्याक्तित्वहरुको आवश्यकता महसुस भयो, त्यस समयमा अगुवा व्यक्तित्वहरुको रुपमा प्रकृति र पुर्वजको शक्ति संयोजन गरि चमात्कारीपूर्ण काम गर्न सक्ने थुलुङ पुरहेत (देवा) र धामी (नोक्छो) नै थिए, तसर्थ समुदायको नेतृत्वमा देवा, नोक्छौ नै चुनिन्थे भनि अनुमान गर्न सकिन्छ ।
समय बित्दै जाँदा समाजको अगुवा चुन्ने शिलसिलामा शक्ति संघर्ष हुन थाल्यो र त्यही शक्ति संघर्षको कारण किरातीहरु विभिन्न समुहमा विभाजन हुन पुगे अनि ती समुहहरु जिविका चलाउन उपयुक्त क्षेत्रको खोजी गर्दै टाढा टाढा सम्म फैलिदै जाने क्रम हुँदा दुई अलग अलग समुह लामो समयसम्म भेट्घाट हुन सकेन । यसरी वर्षौसम्म उनीहरुको भेटघाट नहुँदा भाषा उच्चारणमा फरक पर्न गई एक समुहले बोलेको अर्कोलाई बुझ्न कठिन हुन थाल्यो यसरी समय बित्दै जाने क्रममा एउटै भाषा धेरै भाषा बन्न पुग्यो । अझै पनि किरात राईहरुको २८ वटा भाषा जिवित छ । थुलुङ मिथक अनुसार किरात राईहरुमा विभिन्न भाषाहरु भएता पनि ती सबै किरातीहरु तुवाचुङ जायजुम क्षेत्रबाट नै कृषि युगमा प्रवेश गरेका एकै पुर्खाको सन्तान हौ भनिएको छ ।
.jpg)
नेपालको इतिहास अनुसार किरातीहरु पूर्वबाट फैलिदै काठमाडौ (यलखोम) सम्म आइपुगे, अनि काठमाडौलाई स्थायी राजधानी बनाई पूर्वमा टिष्टा, पश्चिममा त्रिशुली नदीसम्म राज्य विस्तार गरेर १२२५ वर्ष सम्म ३२ पुस्ता राजाहरुले राज्य सत्ता सञ्चालन गरेका थिए । किरातीको पहिलो राजा यलम्बर हुन । उनै यलम्बर राजाको नामबाट नै काठमाडौ उपत्यकालाई यलखोम भनियो । यल को अर्थ यलम्बर र खोम शब्दले स्थान भन्ने बुझाउँछ ।
कालन्तरमा लिच्छवीवंशका निमेषले किरातीका अन्तिम राजा गस्तीहाङलाई शासन सत्ताबाट विस्थापित गरेपछि उनीहरु दोलखा (दोलोखोम) हुँदै तामाकोशी र सुनकोशी नदीको किनारै किनारको बाटो भएर पुन पुर्व तर्फ हानिए । दत्य कथा अनुसार किरात थुलुङ राईहरु ओखलढुङगा जिल्लाको कटुञ्जे क्षेत्रमा लामो समय बसोबास गरे ।
थुलुङहरु कटुञ्जे क्षेत्रमा कति लामो समय बसोबास गरे भन्ने बारे अध्यायन अनुसन्धान गर्न नै बाँकी छ । उनीहरु त्यस क्षेत्रमा रहँदा शिकारको लागि टाढा टाढा सम्म पुग्ने गर्दथे । अग्रजहरुका भनाई अनुसार थुलुङहरु पश्चिमा लिखुखोला, नुम्बुर हिमाल, उत्तरमा सगरमाथा (चोमुलुङमा) पूर्वमा मकालु, साल्पा, तुवाचुङ जायजुमसम्म पुग्दथे ।
.jpg)
किरातीहरु यलखोमबाट लखेटिएर पुर्व कटुञ्जेमा जिविका चलाई रहँदा पनि लिच्छवी शासकका सेनाहरुले बरम्बार दुख दिईरहन्थे । यसरी लिच्छवीहरुले दुख दिए पछि किरातीहरुले आफ्ना केटाकेटी र बृद्धबृद्धाहरुलाई कटुञ्जे क्षेत्रको विकट क्षेत्रमा लुकाई महिनौसम्म लडाईमा सरिक हुन्थे । यसरी लडाई हुँदा धेरै लडाकुहरुको ज्यान पनि जान्थ्यो र बच्न सफल लडाकुहरु आफ्ना परिवार लुकाएको स्थानमा फर्किदा भोक र रोगको कारण सबै परिवारको मृत्यु भई कंगलमात्र भेटाएका थिए भन्ने दत्य कथाहरु सुन्न पाईन्छ ।
लिच्छवी सेनाको पटक पटकको अक्रमणबाट आजित भएका किरातीहरु सुरक्षित स्थानको खोजी गर्न थाले । यस क्रममा उनिहरुले मुलिदेललाई उपयुक्त स्थान ठानी आधार इलाकाको रुपमा विकास गरेर भव्य राजदरवार (ओगानेम) बनाउन पनि सफल भए । यस ओगानेमबाट नै थुलुङ राजा (थुलुहव) ले शासन सत्ता चलाउथे । थुलुङ समुदायको पहिलो राजा को थिए भन्ने विषयमा अन्योल रहे पनि थुलुङहरुको अन्तिम राजा र्योम्लीहव भनि मुन्दुमले किटान गरेको छ । अहिले पनि मुलीदेलमा ओगानेम को भग्नाशेष बाँकी रहेको छ तर यति ठूलो ऐतिहासिकता बोकेको ओगानेमको भग्नावशेष भने अलपत्र अवस्थामा छोडिएको छ ।
मिथक अनुसार किरातहरु कटुञ्जेमा रहँदासम्म थुलुङ र खालिङ राई भनि अलग समुदाय भईसकेका थिएनन् । जनश्रुती अनुसार देरेप्पा पुर्खाका म्यापाहाङ र र्योम्लीहव नाम गरेरका दुई छोराहरु थिए। म्वापाहाङ जेठो र र्योम्लीहव कान्छो छोरा हुन्। जब उनिहरुको विवाह गर्ने उमेर भयो अनि जेठो म्यापाहाङले कान्छो भाई र्योम्ली हवलाई मुलिदेलको राजकाजको जिम्मेवारी सुम्पेर उनि चोमोलुङमा तर्फको क्षेत्रमा अलग्गै घरजम बसाले । उनै म्यापाहाङका सन्तानहरु नै अहिलेको खालिङ राई हुन भन्ने भनाई छ ।
.jpg)
थुलुङ र खालिङ बिचको सस्कृतिक सम्बन्ध बुझ्दा माथीको भनाईहरु सत्यको नजीक रहेको पाईन्छ किनकी अहिलसम्म पनि खालिङ राईहरुले मूल घरको सम्मान स्वरुप मुलिदेलको सुङगुर लगि उनीहरुको कुल (नागी) पूजा गर्ने चलन छँदैछ । अर्को नजीरको रुपमा राईहरुले घरको कान्छो छोरालाई निर्विवाद मूल घर छेडिदिने चलन छ । उल्लेखित आधारहरुबाट थुलुङ र खालिङ राईहरु मुलिदेलबाट छुट्टिएका एकै बाजेका सन्तान हुन भन्न सकिन्छ ।
दत्य कथा अनुसार केहि थुलुहरु अध्यामिक रुपमा अत्यन्त शक्तिशाली (युम्च्यो) पनि थिए । अध्यामिक शक्तिले एक स्थानबाट अर्को स्थानमा सजिल्यै उडेर जान सक्ने, आफु र आफ्नो समुदायको विरुद्ध कसैले बोलेमा घरमा बसि बसि थाहा पाउन सक्ने, अवश्यकता परेमा ढुंगा माटो नै पगाल्न सक्ने क्षमता राख्दथे । यसरी पितृ र प्रकृतिको संयोजनबाट अध्यामिक शक्तिको प्रयोग गर्न सक्ने धेरै पुर्खाहरुको नाम मध्ये देरेप्पा, म्यापाहाङ, दिक्प्या, र्योम्ली हव, रेप्दुर अग्रपंतिमा छन् । अहिले थुलुहरुमा धेरै थरी (दोच्यु) पाईन्छ । यो वंशवृक्षको अर्को रुप हो । थुलुहरु भित्र जति किसिमको थरी रहे पनि संसारभर फैलिएर बसेका सबै थुलुहरुले उनिहरुको उद्गम स्थल मुलिदेल नै मानेका छन् ।
थलुङरु कटुञ्जेबाट मुलिदेल स्थाईरुपमा बसाई सराई गरेपछि विभिन्न कारणबाट मृत्यु हुने क्रम त नियमित हुने नै भयो । थुलुङ मान्यता अनुसार कालगति (नयुप्स्यु) र अप्राकृतिक (मिज्योपालाम) गरि दुई प्रकारको मृत्यु हुन्छ । प्राकृतिक रुपमा मृत्यु भएमा उनको पार्थिव शरिरलाई घरबारी (घर भएको स्थान भन्दा अलि मुन्तिर) को जमिन मुनी गाडी अन्त्यष्टी गर्ने र अन्य कारणबाट मृत्यु भएमा उनको पार्थिव शरिरलाई जंगलमा लगि जमिन मुनी गाडेर अन्त्यष्टी गर्ने परम्परा पुर्वजहरुले शुरु गरे ।
थुलुङ जन विश्वास अनुसार मान्छेको मृत्यु पश्चात पनि मृताआत्मा (मुनाङ) जिवित रहन्छ भन्ने भनाई छ तसर्थ पार्थिव शरिरको अन्त्यष्टी पश्चात मृतकको मृतात्मा कहाँ पु¥याउन भन्ने विषयमा अग्रजहरुको छलफल हुँदा थुलु पुर्खाहरुले लामो समय बसोबास गरेका स्थान र उनिहरुको मृतात्माको सम्मान स्वरुप मुलिदेलमा मृत्यु भएका सबै मृतात्मालाई कटुञ्जेमा नै पुर्याउने निर्णय गरे । सोही निर्णय अनुसार थुलुङ समुदायमा कसैको मृत्यु भएमा उनको मृतात्मालाई कटुञ्जे पु¥याउने परम्परा अझै पनि छँदैछ ।
थुलु परिवारमा कुनै सदस्यको मृत्यु भएमा घट्ना घटेको केहि दिन वा हप्ता भित्र मृतात्मालाई बाट दिन काजकृया (सिकुम्री) गर्ने परम्परा रहि आएको छ । सिकुम्रीको समयमा प्राकृतिक मृत्युको मृतात्मालाई देवा विधिबाट बोल्योम्देल (कटुञ्जे) पुर्याउने चलन छ र अप्राकृतिक कारणबाट मृत्यु भएको मृतात्मालाई नोक्छो विधिबाट कटुञ्जे नजिकको भिर पहरा (खेरेलुङ खेरेता) मा पुर्याउन परम्परा छ तर ६ महिना भन्दा सानो बच्चाको मृत्यु भएमा उसको मृतात्मालाई नोक्छो विधिद्वारा आकाशको बादलमा स्वतन्त्र रहनु भनि बाटो देखाई दिने चलन छ ।
थुलुङ समुदायको मान्यता अनुसार ६ महिना भन्दा कम उमेरको बच्चा मानव रुप नभएर भगवानको रुप मानिन्छ । प्राकृतिक मृतात्मालाई विधिपूर्वक सहि बाटो देखाई दिएमा सो मृतात्मा कटुञ्जे अनि संबन्धित वंशजको तीन चुलामा अध्यामिक अविभावक (खालि) को रुपमा रहेर उनको दर सन्तानको रक्षा सदैव गरिरहेका हुन्छन भन्ने जन विश्वास रहि आएको छ ।
.jpg)
थुलङहरुले सिजन अनुसार मनाउने तोसी (साकेला) मा ति सबै अध्यामिक अविभावकहरुको भक्ति र सम्मान गर्दै सम्पूर्ण प्राणी र जगत कल्याणको लागि आशिर्वाद माग्ने चलन छ तर अप्राकृति घट्नबाट अकालमा मृत्यु भएका मृतात्माले भने घर परिवारलाई दुखमात्र दिईरहने मान्यता रहिआएकोले यस किसिमको मृतात्मालाई धामी विधिबाट सधैको लागि उसको बाटो बन्द गरिने चलन छ ।
थुलुङ समुदायको परम्परा, संस्कार संस्कृतिलाई विधिपूर्वक सम्पन्न गर्न थुलु पुरहेत, धामी र अग्रज व्याक्तित्व (देवा, नोक्छो र मुलिच्यो) को उपस्थितीलाई अनिवार्य मानिन्छ । सामाजिक मान्यता अनुसार थुलु संकार संस्कृतिलाई अगाडी बढाउन कुनै बेला देवा र कुनै बेला नोक्छो लिडरको रुपमा रहन्छन् भने मुलिच्योको जिम्मेवारी ड्युम्ला र्दुयुमको नियमन गर्नु हो । थुलुहरुको परम्परा, संस्कार संस्कृति प्रकृतिवादमा आधारित छ । प्रकृति र पितृ नै मानव जिवनको मूल आधार हो भन्ने मान्यता रहिआएको छ । अग्रजहरुले जिवनमा भोगेका, देखेका अनुभवको संगालो नै थुलु मुन्दुम ( ड्युम्ला र्युद्युम ) हो । अन्य धार्मिक दर्शनले भने जस्तो थुलुङ मुन्दुममा कसैले नदेखेको र नपुगेको स्वर्गको सपना बाँडेको पाईदैन बरु आँखाले देख्ने र पुग्न सकिने स्थानको बारेमा मुन्दुम स्पस्टसंग बोलेको छ । मुन्दुम अनुसार थुलुङहरुको मृत्यु पश्चात उनीहरुको मृतात्मा पु¥याउने स्थानको नाम हो बोल्योमदेल वा कटुञ्जे ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित







