किरात थुलुङ राईका मिथक, वास्तविकता र विकाश
हाम्रो पुर्खाहरु जब यलखोमबाट पुर्वतर्फ धकेलिए तब किराती सभ्यता नै नामेट गर्ने रणनीतिमा यलखोम शक्ति लागि परेको कारण विस्तारै थुलुङ भाषा, संस्कार, संस्कृति र मुन्दुम अभ्यास गर्ने क्रम कमजोर बन्दै गयो
थुलुङ राई किरात वंशको एक भाषिक समुदाय हो । थुलुङ राईहरु नेपाल, भारत लगायत हाल रोजगारीका सिलसिलमा संसारका विभिन्न भागमा छरिरए रहेको पाईएता पनि यिनिहरुको उद्गमस्थल, सोलुखुम्बु जिल्लाको मुलीदेल, अहिलेको थुलुङ दुधकोसी गाउँपालिक वडा नम्बर ६ मुक्लीलाई मान्दछन् ।
मुन्दुम अनुसार थुलुङ राजा र्योम्लीहवले मुलीदेल (हालको मुक्ली) मा विशाल ओगानेम (राजदरबार) बनाई तिनै ओगानेमबाट किरात थुलुङ राज्य सञ्चालन गर्दथे । र्योम्लीहवका शासन व्यबस्था मुन्दुम दर्शनमा आधारित थियो भन्ने रहेको छ ।
थुलुङ मिथक अनुसार र्योम्लीहवले शासन गरेको ओगानेमको भग्नावशेष अझै पनि मुलीदेलमा देख्न सकिन्छ । मिथक अनुसार र्योम्लीहवका ७ भाई छोराहरु थिए । अहिले संसार भर छरिएर रहेको सम्पूर्ण थुलुङ राईहरु उनै र्योम्लीहवका सन्तान हुन भन्ने मान्यता रहेको छ ।
थुलुङ राई समुदायको भाषा अन्य राई भाषिक समुदायसंग धेरै हदसम्म मिल्दोजुल्दो छ यसर्थ थुलुङ र अन्य राईहरु एकै किरात पुर्खाको सन्तानहरु हुन भन्न सकिन्छ । २०६८ सालको जनगणना अनुसार थुलुङ राई भाषाको वक्ता संख्या २१,००० रहेको छ ।
.jpg)
तर थुलुङ समुदायको जनसंख्या यति नै छ भन्ने विश्वासनीय आधार नभए पनि संसारभर छरिएर रहेका थुलुङहरुको जनसंख्या १५०,००० को हाराहारीमा छन् भन्ने अनुमान गरिएको छ ।
थुलुङ राई राजा र्योम्लीहवका बारेमा समुदाय भित्र धेरै मिथकहरु छन् तर अन्य हव (राजा) हरुका बारेमा चर्चा कम छ । मिथक अनुसार उनानेम तयानेम (उहिले उहिले धेरै पहिले) मा किरात थुलुङ राजा यलखोमबाट पूर्वतर्फ धकेलिए । त्यसपछि उनिहरु दोलोखोम (अहिलेको दोलोखा) मा किरात राज्य स्थापना गरे । उनीहरुले दोलोखोममा कति समय शासन गरे भन्ने विषय अन्यौल छ ।
समय बित्तै जाँदा दोलोखोममा पनि उनीहरुलाई असुरक्षित महसुस हुन थालेपछि सुनकोसी नदीको बाटो हुँदै ओखलढुंगाको कटुञ्जे क्षेत्रमा आई अर्को नयाँ राज्य स्थाना गरे । अग्रजहरुका भनाई अनुसार कटुञ्जेमा रहँदा थुलुङ पुर्खाहरु पश्चिमा लिखुखोला, नुम्बुर हिमाल, उत्तरमा सगरमाथा (चोमुलुङमा) पूर्वमा मकालु, साल्पा, तुवाचुङ जायजुमसम्म शिकार गर्न पुग्दथे ।
यसरी घुम्ने क्रममा अहिलेको सोलुखुम्बु जिल्लाको जुनबेसी क्षेत्र आधार इलाका बनाउन उपयुक्त ठानी थुलुङ पुर्खा जुमाहवले स्थायी बस्ती बसाले र उनै थुुलुङ पुर्खाको नामबाट अहिले यस ठाउँलाई जुनबेसी भनेर चिनिन्छ ।
.jpg)
थुलुङ पुर्खाहरु शिकार गर्ने क्रममा अहिलेको मुलिदेल आईपुग्दा यो क्षेत्र भौगलिक र अध्यात्मिक पक्षबाट स्थायी राजधानी बनाउन उपयुक्त ठानी ओगानेम (राजदरबार) बनाएका थिए । थुलुङ भाषामा मुलीदेल भन्नाले नीति बनाउने गाउँ अर्थात अहिलेको भाषामा राजधानी भन्ने बुझिन्छ ।
एक अर्को मिथक अनुसार कटुञ्जे र भकाञ्जे शक्तिशाली दुई थुलुङ पुर्खाको नाम हो । थुलुङ पुर्खाहरु दोलाखाबाट पुर्वतर्फ लागे पछि उनीहरुले भकाञ्जे क्षेत्रलाई पनि स्थायी बसोबास गर्ने स्थानको रुपमा रोजेका थिए । कटुञ्जे पुर्खा हालको कटुञ्जे र भकाञ्जे पुर्खा हालको भकाञ्जेमा समुदायको नेतृत्वमा थिए भन्ने गरिन्छ।
अन्य किरात समुदाय जस्तै थुलुङ राईहरुले पनि प्रकृति र पितृलाई नै उनीहरुको जिवनको आधार मानेका छन्। यस समुदायले जिवन र जगतको बारेमा व्याख्या गर्ने मौखिक दर्शनलाई ड्युम्ला (मुन्दुम) भनिन्छ । ड्युम्ला लिखित नभएर मौखिक रुपमा रहँदै आएको छ । यहि मौखिक ड्युम्लाको आधारमा नै यस समुदायको संस्कार संस्कृति वर्षौ देखि चल्दै आईरहेको छ ।
ड्युम्लामा देश, राजा रानी, समाज, संस्कार, संस्कृति, वातावरण लगायत जीव र वनस्पतिको उत्पति तथा ग्रह, ताराहरुका विषयको वणर्न भएको पाईन्छ यसर्थ हिजोका दिनमा थुलुङ राई सामुदायले अंगालेको दर्शन अत्यन्त परिष्कृत थियो भन्न सकिन्छ तर दुखको कुरा, इतिहासको यति लामो खालखण्डमा राजनीतिक, सामाजिक नेतृत्व गर्ने किरात थलुङ राईको इतिहास लेखिएको छैन किनकी यिनिहरुको भाषा, संस्कार, संस्कृति, परम्परालाई नामेट गर्न नेपालको नश्लीय राज्य सत्ता सधै लागि पर्यो र लागिरहेको छ ।
.jpg)
इतिहास र मिथक अनुसार जब यलखोममा लिच्छवी वंशको उदय भयो त्यस पछि किरात लगायत अन्य समुदायमाथि विभेदकारी नीति नियम बन्न शुरु भयो । सोही नीति लाई मल्ल वंशका शासकहरुले पनि निरन्तरता दिए । लिच्छवी शासक भन्दा अझ निर्दयी बने । १९औं शताब्दीमा जब नेपाल एकिकरणको नाममा गोर्खा सम्राज्यवादको उदय भयो तब विभेद र दमनको नाङगो नाच शुरु भयो ।
फुटाउ र शासन गर भन्ने नीति अनुरुप धार्मिक, सास्कृतिक, भाषिक राजनीति शुरु भयो । शासकहरुले प्रकृति र पितृ पुजक किरातीहरुका संस्कार संस्कृतिमाथी हमला शुरु गरे । गाई र गोरुलाई वली दिई प्रकृति र पितृ पुज्ने किरातीहरुलाई कार्वाही गरे । भूमिपुत्रहरुलाई हिन्दु धर्मसंग सम्बन्धित चाड पर्वहरु मनाउन भनियो र नमान्नेलाई मृत्यु दण्ड सम्म दिन थाले यसको उदारणको रुपमा वि. सं. १९३३ मा धनकुटा जिल्लाका किरात आठपहरिया राई समुदायका अगुवाद्वय रामलिहाङ र रिदमालाई हिन्दुहरुको दशै नमानिदिए कै कारण झुण्डयाएर मृत्यु दण्ड दिए ।
अतंकारी गोर्खा सम्राज्यवादको निर्दयी नीतिको मारमा किरात थुलुङ राई समुदाय पनि अछुतो रहने कुरा भएन फलस्वरुप उनिहरुको दर्शन संस्कार, संस्कृति, छायाँमा पर्दै गयो । गोर्खा सम्राज्यवाद र यसको जगमा जन्मिएको जहानीय राणा शासनका पहिलो प्रधानमन्त्री जंग बहादुर राणाले वि. सं. १९१० मा बनाएको मुलुकी ऐन मार्फत जातको आधारमा जन्मजात अग्राधिकार पाउने, पवित्र र अपवित्र हुने जस्त अत्यन्त नीच सोचलाई स्थायित्व दियो ।
२००७ सालको राजनीतिक परिवर्तन पछि थुलुङ समुदायमा थोरै राजनीतिक, सामाजिक जागरणको ल्याउने अवसर प्राप्त भएको देखिन्छ । यसको उदारणको रुपमा राजनीतिज्ञ नारदमुनी थुलुङलाई लिन सकिन्छ तर ०१७ सालमा राजा महेन्द्रको 'कु'बाट स्थापित पञ्चायती व्यबस्थाले अन्य समुदायको पहिचान सिध्याउने रणनीति लियो यस अनुरुप एक भाषा एक भेषको नारा दिएर प्रत्येक विद्यालयहरुमा हिन्दु धर्मलम्वीहरुको धार्मिक भाषा संस्कृत विषय लादियो र हिन्दु धर्मसंग सम्बन्धित देवी देवता, संस्कार संस्कृति बाहेक अन्य दर्शनलाई अन्ध विश्वास हो भनि भ्रम सिर्जना गरे तर २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय राजतन्त्रात्मक शासन व्यवस्था शुरु भयो ।
यस राजनीतिक परिवर्त पछि भूमीपुत्र, पिछाडा वर्ग, दलित, मधेसी, महिलाको उत्थान अनि उनीहरुको भाषा, संस्कार, संस्कृति संरक्षण सम्बन्धि बोल्ने र संगठित हुने अवसर प्राप्त भयो । यस सकरात्मक परिवर्तनको असर किरात थुलुङ राईमा पनि पर्नु स्वभाविक थियो । फलस्वरुप थुलुङ भाषा, संस्कार, संस्कृति जोगाउन स- साना समुहमा भेटघाट र छलफल हुन थाल्यो ।
.jpg)
चिन्तन मनन हुन थाल्यो । ठिक यसैबेला गणतन्त्रात्मक व्यवस्था लगायत अन्य जनचासोका मुद्धालाई विषय बनाएर माओवादीको १० वर्षे जनयुद्ध शुरु भयो । यस जनयुद्धको जगमा टेकेर गणतान्त्रिक शक्तिहरुले ०६३ मा संयुक्त संघर्ष गरेर गणतन्त्र स्थापना गरे अनि देश धर्म निरपेक्षमा भए पश्चात अन्य भाषिक समुदायहरुले पनि उनीहरुको भाषा, मुन्दुम, संस्कार संस्कृति, पहिचान संरक्षण अभियानमा उत्साह थपियो फलस्वरुप थुलुङ राई समुदायको पहिचान संरक्षण गर्ने उदेश्य राखेर विधिवत् रुपमा निम्न लिखित संस्थाहरु दर्ता भई उदेश्य प्राप्तिको लागि सक्रिय रहेका छन्।
सामाजिक न्यायसहित राज्य व्यवस्थाको आरम्भ गरि हजारौं वर्ष शासन गरेका किरात समुदायका थुलुङ पुर्खाहरुको साँस्कृतिक, भाषिक अवस्था अत्यन्त परिस्कृत र विशाल थियो भन्न सकिन्छ तर हाम्रो पुर्खाहरु जब यलखोमबाट पुर्वतर्फ धकेलिए तब किराती सभ्यता नै नामेट गर्ने रणनीतिमा यलखोम शक्ति लागि परेको कारण विस्तारै थुलुङ भाषा, संस्कार, संस्कृति र मुन्दुम अभ्यास गर्ने क्रम कमजोर बन्दै गयो र गईरहेको छ । यसर्थ थुलुङ पहिचान दिनप्रति दिन लोपोन्मुख भईरहेको प्रति समुदायका सचेत वर्ग चिन्तित देखिन्छ । थुलुङ समुदायको दर्शन संरक्षणको लागि २०४६ देखि हाल सम्म निम्न कार्यहरु भएका छन ।
.jpg)
किरात थुलुङ राई समुदाय पनि विभिन्न चरणमा घटेका नागरिक आन्दोलनहरुबाट प्राप्त अधिकार र अवसरलाई बुझेर यसको सहि सदुपयोग गर्दै बृहत थुलुङ एकताको अवधाराणबाट अघि बढ्न सकेको भए हालसम्म प्राप्त उल्लेखित उपलब्धीहरु भन्दा अझ धेरै सफलता प्राप्त गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि यसो हुन सकिरहेको छैन ।
यसको कारण थुलुङ समुदायमा चेतनाको कमी, थुलुङ अग्रजहरुको संकुचित भावना, नश्लीय सरकारले संरक्षण दिएको विभेद्कारी राज्यको नियम कानुन आदि जिम्मेवार रहेको बुझिन्छ । किरात थुलुङ राईहरुले उनीहरुको सामाजिक, राजनीतिक र आर्थिक पक्ष सबल बनाउँदै पुर्खाहरुको विरासत बचाउने अभियानमा एक भएर अघि नबढेमा नश्लीय राज्य शत्ता र विश्वव्यापीकरणको मारमा परेर केहि दशक भित्र नै थुलुङ पहिचान विश्वबाट सदाका लागि समाप्त हुने निश्चित छ ।
.jpg)
क. किरात थुलुङ राई पुर्खा र अग्रजहरु (स्थलगत अध्ययन)
ख. किरात राई सम्बन्धि लेखिएका छिट्फुट लेख रचना
ग. इन्टरनेटमा उपलब्ध सामाग्रीहरु
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित







